ग्रेटवाल’ मा क्षति पुर्‍याउने २ जना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, भदौ १९, २०८०
  • चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको आराेपमा दुई जना पक्राउ परेका छन् । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍याएकाे आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएकाे छ ।

    राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) लाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ मा जानकारी प्राप्त भएको बताएका छन् । सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान जारी राखेका छन् ।

    ३२ औँ ग्रेटवाल खण्डका कारण पर्खालपारि जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (शर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन् । यो घटनाबाट राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुगेको उनीहरूले बताएका छन् ।

    ३२ औँ ग्रेटवाल खण्ड मिङ काल (१३६८–१६४४) बाट बाँकी रहेका केही पूर्ण पर्खाल र वाच टावरहरू मध्ये एक हो । यसलाई प्रान्तीय सांस्कृतिक अवशेष स्मारकका रूपमा सूचीकृत गरिएको छ । सन् १९८७ मा चीनको यो विशाल पर्खाललाई संयुक्त राष्ट्र सङ्घीय शैक्षिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदास्थलका रूपमा घोषणा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs