जुम्लामा स्याउ खेती गर्ने किसानको सङ्ख्या बढ्याे, २१ हजार मेट्रिकटन निर्यात

  • कालिका खवर
  • बुधबार, भदौ २७, २०८०
  • जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ अहिलेसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

    पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, ‘गएको वर्षभन्दा यो वर्ष स्याउको उत्पादन ४० प्रतिशतले घटेको छ ।’ स्याउ खेती गर्ने किसानको सङ्ख्या भने बढेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

    जिल्लामा कुल स्याउ उत्पादनको विवरण सङ्कलन भइरहेको छ । अबको केही हप्तापछि जिल्लाभरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।

    जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीको भनाइ छ ।

    स्याउ लिनका लागि स्थानीय व्यापारी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।

    किसानको बगैँचाबाट प्रतिकेजी ६० रुपैयाँमा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताउनुभयो । जिल्लाको सिञ्जा भेगमा स्याउ खरिद गर्ने व्यापारी किसानको बगैँचामा पुग्ने गरेका छन् ।

    ‘भदौको दोस्रो हप्तापछि मात्र स्याउ टिप्न किसानलाई परिपत्र गरेका थियौँ,’ सिञ्जा गाउँपालिका कृषि शाखाका प्राविधिक दलवीर वडले भन्नुभयो, ‘अहिले यहाँका किसानलाई स्याउ टिप्न चटारो परेको छ । व्यापारीले स्याउको गुणस्तर हेरेर प्रतिकेजी ५० देखि ६० रुपैयाँमा किन्ने गरेका छन् ।’ जिल्लाभर स्याउको मूल्यमा एकरूपता कायम नहुँदा किसानले उचित मूल्य पाउन नसकेको कृषि प्राविधिक वडले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs