
हेटाैँडाको सञ्चाे अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटाैँडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् ।
डाक्टरलाई कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने हेटाैँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताउनुभयो । हेटाैँडा अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामूहिक रुपमा राजीनामा दिएका डाक्टर खड्काले बताउनुभयो ।
हेटाैँडा अस्पतालमा मात्र हरेक दिन १५ सय जनाभन्दा धेरै बिरामीले ओपीडीबाट सेवा लिँदै आएका छन् । त्यहाँका निजी अस्पतालमा पनि बिरामीको त्यति नै चाप हुने गरेको छ । ओपीडी सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।
बिरामीको उपचार गरिरहेका बेला हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) मै डाक्टरमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । अस्ति बिहान हेटाैँडा–१ को सञ्चो अस्पतालमा डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापामाथि कुटपिट भएको थियो ।