आर्थिक मिडिया सञ्चालक संघ (इमान) को महासचिवमा कार्की

  • कालिका खवर
  • शनिबार, भदौ ३०, २०८०
  • काठमाडौं । आर्थिक मिडिया सञ्चाल संघ (इमान) को महासचिवमा रामेश्वर कार्की मनोनीत भएका छन् । इमान कार्यसमितिको भदौ २९ गते बसेको पूर्ण बैठकले संस्थाका उपमहासचिव कार्कीलाई महासचिवमा मनोनीत गरेको हो ।
    यस अघि महासचिव रहेका सुरज प्याकुरेलले पदबाट दिएको राजिनामा स्वीकृत गरि कार्कीलाई नयाँ महासचिवको जिम्मेवारी दिइएको इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले जानकारी दिए ।
    संस्था स्थापनादेखि सक्रिय भुमिकामा रहेका प्याकुरेलले राजिनामा दिए पनि कारण भने खुलिसकेको छैन । यद्यपि उनले आफ्नो फेसबुक वालमा किताब लेख्ने, अर्थसरोकारलाई समय दिने कुरा लेख्दै हठात अन्य दुई वटा संस्थाबाट पनि अलग रहेको घोषणा गरेका छन् ।
    विगत १८ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा आबद्ध कार्की विगत ८ वर्ष यता डेभलपमेन्ट मिडिया प्रमोशन प्रा.लि. द्वारा सञ्चालित अर्थतन्त्र डटकमका (सञ्चालक) प्रकाशक हुन् । कार्की २०६६ देखि २०७२ सम्म धादिङको गजुरीबाट प्रकाशित हुने हाइवेखबर साप्ताहिकको पनि प्रकाशक थिए ।
    राष्ट्रिय योजना आयोगमा सञ्चार विज्ञको रुपमा तीन वर्ष अनुभव संहालेका कार्की पत्रकारिता क्षेत्रका विभिन्न संघ संगठनमा विभिन्न नेतृत्वदायि पदमा रहि काम गरिसकेका अनुभवी व्यक्ति हुन् । उनी विगत ८ वर्ष यता नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चको कार्यकारी प्रमुखको रुपमा कार्यरत छन् ।
    धादिङलाई कर्मथलो बनाएर पत्रकारिता शुरु गरेका कार्कीले धादिङ आवाज साप्ताहिक, रेडियो पालुङ, हाइवेखबर साप्ताहिक, नयाँ पत्रिका दैनिक, एभिन्यूज टेलिभिजन, नागरिक र रिपब्लिका दैनिकमा आबद्ध भइ पत्रकारिता गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs