प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई स्वदेशमा नै भविष्य देखाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८० लाई सम्बोधन गर्दै उहाँले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको समेत बताउनुभएको छ ।
आर्थिक वर्ष २०८०/८१ लाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसबाट सकारात्मक परिणाम निकाल्न युवा सहभागिता पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो ।
युवा जनसङ्ख्या उच्च रहेको वर्तमान समयमा जनसाङ्ख्यिक लाभांशको दृष्टिले विशिष्ट अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनसाङ्ख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिन्छ । जनगणना २०७८ अनुसार त्यस्ता युवाको जनसङ्ख्या एक करोड २४ लाख अर्थात् ४२ दशमलव ५६ प्रतिशत छ ।