
नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेकाे छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।
यस्तो बस सेवा सञ्चालनमा ल्याउने गरी अहिले सडकमा मार्किङको काम भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । लेनमा आवश्यक भौतिक तयारी पूरा भएको जानकारी उनले दिए ।
सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञचालन हुनेछ । द्रुत बसहरु चल्ने लेनमा दुई-दुई सय मिटरमा रेड मार्क गरिएको जानकारी पनि उनले दिए । खासगरी कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागिएकाे उनले बताए ।