
चाबहिल बस्ने हर्कबहादुर तामाङ टेम्पो चलाउनुहुन्छ । हरेक दिन उहाँ ढल्को, मैतीदेवी, सिनामंगल, कोटेश्वर, ग्वाको, सातदोबाटो, एकान्तकुना, बल्खु ओहोरदोहोर गर्नुहुन्छ । ग्वार्कोमा बन्न लागेको फ्लाइओभरका कारण अरु चालकले जस्तै उहाँले पनि धेरै समस्या भोग्नुभएको छ ।
जाममा धेरै बेर बस्नुपर्ने, समयमा पुग्न नसकिने, यात्रु रिसाउने, जामका कारण बीचमै यात्रुहरु ओर्लेर हिँडिदिने, पैसा नदिने जस्ता समस्या उहाँले भोग्दै आउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘यसले हामीलाई धेरै नै समस्या छ । फ्लाइओभर बनाउन थालेपछि जाम धेरै भयो । अफिस टाइममा झन धेरै जाम हुन्छ । दिउँसो पनि जाम हुन्छ । आधा घण्टा त सामान्य जस्तै हुन्छ । पुरै जाम हुन्छ । यसले गर्दा हामीले ट्रीप पनि नभ्याउने हुन्छ ।’
गएको मंसिरमा बनाउन शुरु गरिएको फ्लाइओभरको डिजाइनमा समस्या आएपछि झण्डै सात/आठ महिना काम हुन सकेन र निर्माण रोकिएको थियो । भदौको दोस्रो हप्तादेखि फेरि काम थालिएको छ ।
निर्माण कम्पनी आशीष–समानान्तर–रेलिगेर जेभीका साइट इन्जिनियर प्रदीप भट्टराई अहिले फ्लाइभोरको पिलर बनाउने काम भइरहेको बताउनुहुन्छ । अहिले ३० मिटर गहिरो पाइल अर्थात पिलर बनाउने काम भइरहेको भट्टराईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पहिलेको डिजाइनमा परिवर्तन भएपछि अहिले ३० मिटर गहिरो पाइल बनाउने काम भइरहेको छ ।’