चिनियाँ कम्पनीसँगको ठेक्का रद्द गर्दै मेलम्ची खानेपानी

  • कालिका खवर
  • शनिबार, मंसिर १६, २०८०
  • काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम गर्ने ठेकेदार चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का रद्द गर्ने भएको हो ।

    काठमाडौँ उपत्यकावासीलाई खानेपानी नआइरहेको बेला खानेपानी मन्त्री महेन्द्रराय यादव त्यसको अनुगमनमा मेलम्ची पुगेका छन् । मन्त्री यादव दुई दिनदेखि त्यही मेलम्चीमा रहेका छन् ।

    काठमाडौँ उपत्यकालाई पानी पठाउन सिनो हाइड्रोको लापरबाही देखिएको कारण ठेक्का तोड्न लागिएको बताइएको छ । खानेपानी मन्त्रालयका सचिव रामआधार साहले ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर मर्मतको काम नसकाएको कारण पानी पठाउन नसकिएको बताए ।

    ‘बाढीका कारण बिग्रिएको मेलम्ची खानेपानी आयोजनालाई मर्मत गर्न सिनो हाइड्रो कम्पनी लापरबाही गरिरहेको छ । कहिले के, कहिले के भन्दै काम गर्नबाट पन्छिरहेको छ,’ उनले भने ।

    आयोजनाको काम गर्न राखेको धरौटी कम्पनीले माग गरिरहेको तर कामै नगरेपछि धरौटी रकम फिर्ता गर्न नमिल्ने बताए । धरौटी रकम फिर्ता नदिएको भन्दै सिनो हाइड्रोले अदालतमा मुद्दा दायर गरेको छ । ‘मुद्दा दायर गरिसकेपछि धरौटी फिर्ता दिने कुरा हुँदैन,’ उनले भने, ‘काममा आलटाल गरिरहेको कारण कम्पनीको ठेक्का नै रद्द गर्ने तयारी भइरहेको छ । ’

    मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकिर अहमद अन्सारीले पनि ठेक्का रद्द गर्ने विषयमा छलफल चलिरहेको बताए । उनले भने, ‘अहिले हामी छलफलमै छौँ, केही दिनमा यसको टुङ्गो लाग्छ ।’

    सिनो हाइड्रो कम्पनीले मेचम्चीमा इन्टेक र सुरुङको गरी दुइटा ठेक्का पाएको छ । उसको दुवै गरी १० करोड धरौटी रहेको छ । त्यही धरौटी फिर्ता लिनका लागि कम्पनीले सरकारलाई दबाब दिइरहेको छ । तर आयोजना निर्माण गरेको कम्पनीले नै मर्मत सम्भार गर्नुपर्ने सम्झौतामा उल्लेख छ तर सिनो कम्पनीले मर्मत सम्भार गर्न नचाहेको दाबी गरिएको छ ।

    सो आयोजना निर्माण गर्न लाग्दा कम्पनीले ६ करोडको बीमा गराएको छ । बाढीको कारण अहिले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । त्यसबाट कम्पनीले बीमाबाट रकम पनि प्राप्त गर्न सक्ने भए पनि अवलोकन तथा सर्भे नगरेसम्म बीमाको रकम निकासा हुन नसक्ने सरकारी अधिकारीको भनाई छ । कम्पनी भने त्यहाँ काम गर्न नै गएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs