वीरगन्जलाई पहिलो अंक, ललितपुरले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

  • कालिका खवर
  • मङ्लबार, मंसिर १९, २०८०
  • काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा वीरगन्ज युनाइटेडले तेस्रो खेलमा अंकको खाता खोलेको छ । प्रतियोगितामा वीरगन्जले मंगलबार भएको खेलमा ललितपुर सिटी एफसीलाई २–२ को बराबरीमा रोक्दै अंक खोसेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा वीरगन्जले सुरुआती अग्रता बनाए पनि लामो समय जोगाउन सकेन । १०औँ मिनेटमा विलियम ओपोकुले अ‍ैसेडुले गोल गर्दै वीरगन्जलाई अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेटपछि नै इमोन इजेकेइले गोल गर्दै ललितपुरलाई खेलमा फर्काएका थिए । २७औँ मिनेटमा निखिल सुरेसराओ काडमले गोल गर्दै ललितपुरलाई २–१ को अग्रतामा राखेका थिए ।पहिलो हाफमा २–१ को अग्रता बनाए पनि दोस्रो हाफमा कृपाकान्त महतो थारूले गोल गर्दै वीरगन्जलाई खेलमा फर्काएका थिए । ५२औँ मिनेटमा कृपाकान्तले वीरगन्जको तर्फबाट गोल गरेका थिए ।

    बराबरीसँगै एक अंकमा सीमित बनेको ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । चार खेलबाट ६ अंक जोडेको ललितपुर तालिकाको दोस्रो स्थानमा छ । ललितपुरले यसअघि एक खेलमा जित निकाल्दा दुई खेलमा बराबरीको नतिजा आत्मसात गरेको थियो । तालिकाको शीर्ष स्थानको धनगढी एफसीले तीन खेलबाट सात अंक जोडेको छ ।लिगमा वीरगन्जको भने यो पहिलो अंक हो । वीरगन्जले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो । ललितपुरबाट अंक खोसे पनि तीन खेलबाट एक अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs