काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा भएको बताएका छन् । बिहीबार काठमाडौंमा माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन कार्यक्रममा उनले नीति निर्माता र जनता नै बिग्रँदा देश बिग्रने बताए ।
“कुनै पनि देश विदेशी चलखेलले बिग्रँदैन, बरु देशका जनता र नीति निर्माता आफैँ बिग्रिएर देश बिग्रन्छ,” उनले भने, “काम सबैले इमानदारिताका साथ गर्नुपर्छ । देशका संस्था र देशलाई गाली गरेर देश बन्दैन ।”
सबैलाई पैसा कमाउने रहर हुने भन्दै डा. महतोले इमानदारिताका साथ ऐन–नियममा बसेर कमाउन कसैले नरोक्ने उल्लेख गरे । देश परिवर्तन गर्न आफू परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।