देशको संकट समाधानका लागि अस्थायी संयुक्त सरकार बनाऔँ : अध्यक्ष वैद्य

  • कालिका खवर
  • बिहिबार, मंसिर २१, २०८०
  • काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् ।

    बिहीबार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरू असक्षम र संकटग्रस्त बन्दै गएको बताए । उनले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताए ।
    उनले सरकारले संघर्षका उपलब्धिहरूको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आधारित तत्कालीक कार्यक्रमको कार्यान्वयन गर्ने बताए ।

    त्यस्तै, वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधान निर्माणका लागि आधार तयार पार्ने उनले बताए ।
    अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तत्कालीक हक, हित तथा अधिकारको प्राप्ति र संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पारे । उनले अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गरे ।

    उनले भने, “वर्तमान राज्यसत्ता, व्यवस्था तथा तिनका पक्षधर राजनीतिक दल असक्षम तथा संकटग्रस्त बन्दै गएको प्रष्ट हुन्छ । भयावह हुँदै जान थालेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक संकटको समाधान हुनै सक्दैन । राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा हो । त्यो अस्वीकार्य छ । संसदीय निर्वाचनको निरन्तरताको चक्रव्यूह सरकार ढाल्ने, अर्को बनाउने र फेरि ढाल्ने सत्तालिप्साका खेल र झुटा आश्वासन तथा भ्रम जाल पनि थेग्न सक्ने स्थितिमा देश र जनता छैनन् । साथै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने धारणा पनि संसदीय यथास्थितिवादको अभिव्यक्ति बाहेक अरु केही होइन । यो एउटा थप भ्रमजाल मात्र हो । पुरानो संविधानमा टालो हालेर र संशोधन गरेर पनि केही हुँदैन ।”सरकार ढाल्ने, बनाउने र पुनः ढाल्ने संसदीय निर्वाचनको निरन्तरता पनि जनता थेग्ने स्थितिमा नरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs