गाेरखा । गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा विद्यार्थी सङ्घ–सङ्गठनले ताला लगाएका छन् ।
क्याम्पसमा हुने गतिविधिमा आफूहरूसँग आवश्यक समन्वय र छलफल नभएको भन्दै विद्यार्थी सङ्घ–सङ्गठनले आज बिहीवार क्याम्पस प्रमुख रामचन्द्र दुवाडीको कार्यकक्षमा ताला लगाएका हुन् । स्वतन्त्र विद्यार्थी युनियनसहित नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एमाले निकट अनेरास्ववियुले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनको कमी कमजोरी र बेथितिविरुद्ध तालाबन्दी गरिएको उल्लेख गरेका छन् ।
विद्यार्थी सङ्घ–सङ्गठनले क्याम्पसका कर्मचारीको दैनिक हाजिरी नभएको, पठनपाठन नियमित नभएको तथा पुस्तक, सरसफाइ औषधिजस्ता विद्यार्थीको आधारभूत आवश्यकतासमेत पूरा नगरिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।क्याम्पस प्रमुख दुवाडीले विद्यार्थी सङ्गठनले आफ्ना मागबारे क्याम्पस प्रशासनलाई औपचारिक जानकारी नदिई ताला लगाएको बताउनुभयो । ताला खोलेर शैक्षिक र प्रशासनिक गतिविधि नियमित गराउन तत्कालै पहल थालिएको उहाँको भनाइ छ ।