अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दियो

  • कालिका खवर
  • आइतवार, मंसिर २४, २०८०
  • काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा नौ विकेट गुमाएर दुई सय ६१ रन बनाएको हो ।

    अफगानिस्तानका लागि तेस्रो नम्बरका ब्याट्सम्यान जमसिद जदरानले सतकीय पाली खेले । उनी घाइते भई मैदानबाट बाहिरिएका थिए । उनले एक सय ५३ बलको सामना गरी आठ चौका प्रहार गरेका थिए । अफगानिस्तानले नवौँ विकेटका रुपमा भने फरिदुन दाउदजाईलाई शून्य रनमा गुमाएको थियो । उनलाई गुल्सन झाले बोल्ड गरेका थिए ।विकेटकिपर ब्याट्सम्यान नुमन शाह अघाले पनि टोलीको खातामा ६० रन थपेका थिए । रहिमुल्लाह जुरमातीले पनि ३५ रनको योगदान गरे । नेपाली टोलीका बलर गुल्सन झा, हेमन्त धामी र सुवास भण्डारीले दुई-दुई विकेट लिए । आकाश चन्द र दीपेश कँडेलले पनि एक-एक विकेट हात पारे । अफगानिस्तानले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो ।

    अफगानिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका थिए । उनले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् । गुल्सनले उनलाई कप्तान देव खनालमार्फत क्याच गराएका थिए । तराखिल आउट हुँदा अफगानिस्तानले १.५ ओभरमा १७ रन बनाएको थियो ।अफगानिस्तानको दोस्रो विकेट हेमन्त धामीले लिएका थिए । उनले पाकिस्तानका खालिद तनिवाललाई गुल्सन झाद्वारा क्याच गराएका थिए । ओपनर ब्याट्सम्यान खालिद १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी आउट हुँदा अफगानिस्तानले ६.२ ओभरमा ३३ रन बनाएको थियो ।

    अफगानिस्तानको तेस्रो विकेट पनि हेमन्त धामीले नै लिएका थिए । उनले अफगानिस्तानका अकरम मोहम्मदजाईलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । हेमन्तले उनलाई बोल्ड गरेका थिए । उनी आउट हुँदा अफगानिस्तानले ६.३ ओभरमा ३३ रन बनाएको थियो । हेमेन्त ह्याट्रिक विकेट लिनबाट भने चुकेका थिए ।अफगानिस्तानको चौथो विकेट दीपेश कँडेलले लिएका थिए । उनले अफगानिस्तानका रहिमुल्लाह जुरमातीलाई ३५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । उनले रहिमुल्लाहलाई सुवास भण्डारीद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान रहिमुल्लाहले ६५ बलमा दुई चौका पनि हिर्काएका थिए । २८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा अफगानिस्तानले एक सय १४ रन बनाएको थियो ।

    अफगानिस्तानको पाँचौँ विकेट सुवास भण्डारीले लिएका थिए । उनले पाकिस्तानी ब्याट्सम्यान नुमन शाहलाई दीपेश कँडेलद्वारा क्याच गराएका थिए । छैटौँ नम्बरका ब्याट्सम्यान नमनले केवल ४१ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ६० रन बनाएका थिए । उनी आउट हुँदा अफगानिस्तानले ४१.४ ओभरमा दुई सय ११ रन बनाएको थियो । एक सय १४ रनमा चौथो विकेट गुमाएको अफगानिस्तानको स्कोरलाई नुमन र जमसिद जदरानले दुई सय ११ रनसम्म पुर्‍याएका थिए ।अफगानिस्तानको छैटौँ विकेट पनि सुवास भण्डारीले नै लिएका थिए । उनले लिएको यो दोस्रो विकेट थियो । उनले अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद युनुस जदरानलाई दीपक बोहराद्वारा क्याच गराएका थिए । युनुस जदरान दुई रनभन्दा अगाडि बढ्न सकेनन् । युनुस जदरान आउट हुँदा अफगानिस्तानले ४३.३ ओभरमा दुई सय १९ रन बनाएको थियो ।

    अफगानिस्तानको सातौँ विकेट आकाश चन्दले लिएका थिए । उनले अफगानिस्तानका ब्याट्सम्यान खलिल अहमदलाई बोल्ड गरेका थिए । खलिल अहमदले पेभेलियन फर्किनुअघि आठ बलमा एक छक्का र एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उनी आउट हुँदा अफगानिस्तानले ४६.३ ओभरमा दुई सय ४४ रन बनाएको थियो ।अफगानिस्तानको आठौँ विकेटका रुपमा कप्तान नासिर खान चार रन बनाउँदै आउट भएका थिए । उनी रन आउट भई पेभेलियन फर्किएका हुन् । उनलाई विपिन रावलले रन आउट गराएका थिए । उनी आउट हुँदा अफगानिस्तानले ४९.२ ओभरमा दुई सय ६१ रन बनाएको थियो ।नेपाल र अफगानिस्तान आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् । यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जिवित रहने छ भने पराजित हुने टोली समूहगत चरणबाटै घर फर्किने छ । पहिलो खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले र पाकिस्तानले नेपाललाई पनि सात विकेटले हराएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs