पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, आर्मीको पनि सम्भावना बढ्यो

  • कालिका खवर
  • सोमवार, माघ १५, २०८०
  • काठमाण्डौ | नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो । लगातार सातौं जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

    आज गण्डकी प्रदेशले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४ ओभर दुई बलमा चार विकेट गुमाएर भेटायो । गण्डकीका अमृत गुरुङले ५० रन बनाए । पुलिसका राशिद खानले ५ विकेट लिए । पुलिस ७ खेलमा १४ अङ्कका साथ शीर्षस्थानमा छ ।

    आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै त्रिभुवन आर्मी क्लब पनि फाइनल नजिकै पुगेको छ । आर्मीले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४० ओभर १ बलमा १ सय ६५ रन बनाउँदा अलआउट भयो । उसका किरण ठगुन्नाले ६८ रन बनाए । अर्मीका जितेन्द्र मुखियाले ५ विकेट लिए ।

    पहिले ब्याटिङ गरेको आर्मीका लागि कुशल मल्लले ७५ रन बनाए, सुदूरपश्चिमका भोजराज भट्टले ६ र नरेन साउदले ३ विकेट लिए । आर्मी ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा ८ अङ्कसहित छैठौँ स्थानमा छ । गणितीय हिसाबमा आर्मीको फाइनल पुग्ने सम्भावना बलियो छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs