२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ३५ ओभरमा चार विकेट गुमाएर १८५ रन बनायो

  • कालिका खवर
  • बिहिबार, माघ २५, २०८०
  • काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ३५ ओभरमा चार विकेट गुमाएर एक सय ८५ रन बनाएको छ । क्यानडाका निकोलस किर्तन अविजित ६२ र श्रेयस मोभा शून्य रन बनाउँदै क्रिजमा सँघर्षरत छन् । क्यानडालाई जितका लागि अब ९० बलमा ४० रन आवश्यक छ ।

    क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । रिजन ढकालले लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजनले विकेट लिएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई आरिफ शेखद्वारा क्याच गराएका थिए । त्यतिबेला नवनितले केवल ६ रन बनाएका थिए ।

    क्यानडाको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले क्यानडाका अर्का ओपनर एरोन जोन्सनलाई २० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सोमपालले जोन्सनलाई एलबीडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको अन्तिम बलमा जोन्सन आउट हुँदा क्यानडाले ३५ रन बनाएको थियो ।

    क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले मैदानमा जमिसकेका ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । रोहितले उनलाई ललित राजवंशीद्वारा क्याच गराएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा क्यानडाले एक सय १४ रन बनाएको थियो ।

    क्यानडाको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका ब्याट्सम्यान हर्ष ठाकेरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । कुशल मल्लले हर्षलाई बोल्ड गरेका थिए । आउट हुनुअघि हर्षले ४३ बलमा तीन चौका हिर्काएका थिए । ३३औँ ओभरको अन्तिम बलमा हर्ष आउट हुँदा क्यानडाले एक सय ७४ रन बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs