विज्ञानलाई चुनौती दिँदै आगोको भुँग्रोमा नाच

  • कालिका खवर
  • बिहिबार, माघ २५, २०८०
  • काठमाडौँ । विज्ञानलाई चुनौती दिँदै पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगोको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् ।

    गएराती चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोबास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिब २ सय जनाले विज्ञानलाई समेत चुनौती दिँदै तान्त्रिक विद्याअनुसार आगाको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका हुन् । यसरी खली खुवाउने काम सम्पन्न गर्न धामी गुरुहरुले तान्त्रिक विधिअनुसार एक महिना लगाएर कपिल गोत्रका पुवर थापा घरपरिवारले मान्दै आएका महाकाली, दक्षिणकाली र सोही कुलका १२ जना नयाँ डाङ्ग्रेहरु तयार परेका थिए । ती डाग्रेहरु १२ वर्षका बच्चादेखि ७८ वर्षका वृद्धसम्म छन् । उनीहरु आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि पाको वायु भएको मानिन्छ । कुलायन पूजामा सहभागी बनेका डाग्रेहरुले खाली खुट्टाले आगोको भुँग्रोमा जान आफूहरुलाई सुरुमा डर लागेपनि पछि मज्जाले नाच्न सकेको प्रतिक्रिया दिएका छन् ।

    कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । खली खुवाउने दिन बेलुका ती डाँग्रेहरुलाई गुरुहरुसहित १ सय ८ भारी दाउराको भुँग्रो खरानी नबन्दासम्म नाच्न लगाउने र त्यस पश्चात विभिन्न नाममा थापिएको देवी देवतालाई बली दिई डाँग्रेहरुलाई बत्ती खुवाएर खली खुवाउने काम सम्पन्न गर्ने परम्परा छ । धामी गुरु धमेन्द्र विष्टले खली खुवाउने कार्य गरे आफ्नो कुल गोत्रमा कोही अकालमा मृत्यु भए मोक्ष पाउने र आफ्नो कुल देवतालाई मान्दा प्रगति हुने विश्वास व्यक्त गरे । आगोको भुँग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण सम्भव भएको अर्का धामी गुरु साजन थापाले दाबी गरे । एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा तान्त्रिक शक्तिमाथि धेरैले विश्वास नगरेपनि व्राम्हण, क्षेत्रीलगायत विभिन्न समुदायहरुले खली खुवाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs