पोर्चुगलमा राहदानी बनाउन तथा नवीकरण गर्न नपाउँदा नेपाली समस्यामा

  • कालिका खवर
  • आइतवार, फाल्गुन ६, २०८०
  • वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न देश हुँदै पोर्चुगल पुगेका नेपालीले राहदानीमा भैरहेको समस्याले थप मर्कामा परेका छन् ।

    विशेष गरी : पोर्चुगल बसाइको वैधानिकताका लागि त्यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू धेरै समस्यामा परेका हुन् । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीले घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् ।

    पोखराका रवि थापाले राहदानी बनाउन जोखिम मोलेरै भए पनि स्पेनमा रहेको नेपाली दूतावास जाने तयारी गरेको बताउनुभयो । लामो समयदेखि परिवारसहित पोर्चुगल बस्दै आएका गोरखाका दिनेश श्रेष्ठले पनि राहदानीको म्याद गुज्रेका कारण धेरै सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो ।

    लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालयले दिएको तथ्याङ्क अनुसार राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउने नेपालीको संख्या दुई हजार ६ सयभन्दा धेरै छ । दुई हजार ९७ जनाको नवीकरण, चार सय ५० जनाको हराएको र ६५ जना बालबालिकाको नयाँ राहदानी बनाउनुपर्ने आवेदन छ ।

    पोर्चुगलमा नेपाली दूतावास खुलिनसकेका कारण राहदानी बनाउन स्पेन, फ्रान्स, बेल्जियम र डेनमार्कमा रहेको नेपाली दूतावाससम्म पुग्नुपर्ने हुन्छ । पोर्चुगलमा रहेका नेपालीको यकिन तथ्याङ्क नभए पनि ५० देखि ६० हजार हाराहारीमा हुनसक्ने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs