महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

  • कालिका खवर
  • सोमवार, चैत्र १२, २०८०
  • महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा रहेका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयहरूमार्फत वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ।

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरताका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ।

    बैंकले ‘ग्लोबल मनी विक’को अवसरमा विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्देश्यले प्रभातफेरीसहित वित्तीय साक्षरताका विभिन्न कार्यक्रम गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक भिडियो सामग्रीहरू प्रसारण गरेको छ।

    देशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरूमा विद्यार्थी, स्थानीय युवाहरूका साथै रोजगार व्यक्तिहरू, किसान, लघु, साना तथा मझौला उद्यमीहरू, दैनिक ज्यालादारीहरु, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, महिला तथा विप्रेषण प्रापकहरूको सहभागिता रहेको थियो।

    ती कार्यक्रमबाट करिब हजार मानिसलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बिमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ।

    बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषणजस्ता बैंकिङ सेवाहरूसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो। त्यस्तै, बैंकले विद्युतीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिक वाइफाई प्रयोग गर्दा हुन सक्ने जोखिमसम्बन्धी विभिन्न सचेतनामूलक भिडियो सामग्रीहरू निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रसारण गरी सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs