इक्वेडरकी सबैभन्दा कान्छी र लोकप्रिय मेयर ब्रिगिट गार्सियाको गोली हानेर हत्या

  • कालिका खवर
  • सोमवार, चैत्र १२, २०८०
  • इक्वेडरकी सबैभन्दा कान्छी र लोकप्रिय मेयर ब्रिगिट गार्सियाको गोली हानेर हत्या भएको छ । इक्वेडरको सान भिसेन्टे शहरका मेयर गार्सिया र सञ्चार निर्देशक जैरो लोरको गाडीभित्रै गोली हानेर हत्या भएको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    २७ वर्षकी मेयर गार्सिया देशकै सबैभन्दा युवा राजनीतिज्ञ र लोकप्रिय मेयरको रुपमा चिनिनुहुन्थ्यो । उहाँ पूर्व राष्ट्रपति राफेल कोरेआको नेतृत्वमा भएको नागरिक क्रान्तिकी महत्वपूर्ण सदस्य पनि हुनुहुन्थ्यो ।

    इक्वेडरले संगठित अपराधविरुद्ध लडाइँ लडिरहेको बेला गार्सियाको उदयलाई महत्वकासाथ हेरिएको थियो । इक्वेडरमा सरकारले २२ वटा समूहलाई आतंकवादी समूह घोषणा गरेर कारबाही गरिरहेको छ । सरकारलाई साथ दिए बापत आतंककारी समूहले नै मेयर गार्सियाको हत्या गरेको प्रहरीको अनुमान छ ।

    यसअघि गएको जुनमा मन्टाका सहरका मेयर अगस्टिन इन्ट्रियागोको पनि हत्या भएको थियो । यस्तै राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भील्लाभीसन्सीको पनि गएको वर्षको अगस्टमा राजधानी क्विटोमा भएको राजनीतिक र्‍यालीमै गोली हानेर हत्या भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs