नेपालले टस जितेर पहिले गुजरातलाई ब्याटिङको निम्तो दियो

  • कालिका खवर
  • आइतवार, चैत्र १८, २०८०
  • काठमाडौँ । राज्यस्तरीय क्लबसँग त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार गुजरातविरुद्धको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    खेल नेपाली समय अनुसार, दिउँसो २ः४५ बजे सुरु हुनेछ । उक्त शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको थियो । नेपाली टोलीमा  रोहित पौडेल (कप्तान), आसिफ शेख र कुशल भुर्तेल रहेका छन् । यसैगरी टोलीमा कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द पनि रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन् ।

    भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी-२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले भारतको गुजरात र बरोडा क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागेको हो । ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेल अप्रिल १ तारिखमा गुजरात र बरोडाबिच हुनेछ ।

    यसैगरी तेस्रो खेल नेपाल र बरोडाबिच अप्रिल २ तारिखमा खेलिने छ । अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अर्को खेल अप्रिल ४ तारिखमा बरोडा र गुजरातबिच खेलिने छ । लिग चरणको अन्तिम खेल अप्रिल ५ तारिखमा नेपाल र बरोडाबिच खेलिने कार्यक्रम रहेको छ । त्यसपछि लिग तालिकाको सबैभन्दा माथि रहने दुई टोलीबिच अप्रिल ७ तारिखमा शृङ्खलाको फाइनल खेल खेलिने छ । भारत प्रस्थान गर्नुअघि नेपाली टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ टोलीसँग दुईवटा टी-२० खेलको शृङ्खला खेलेको थियो । शृङ्खलामा नेपाल २-० ले विजयी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs