
काठमाडौँमा यात्रुलाई कुटपिट गरेको आरोपमा प्रहरीले इनड्राइभ चालकलाई पक्राउ गरेको छ ।
सिंहदरबारस्थित प्रहरी वृत्तले यात्रु केशव घिमिरेको निवेदनका आधारमा नवलपरासी घर भई हाल काठमाडौँको टोखामा बस्ने २६ वर्षीय जोन तामाङलाई पक्राउ गरेको हो ।
चालक तामाङले आफ्नो तीनवटा औँला भाँचिदिएको सेवाग्राही घिमिरेले निवेदनमा लेखेका छन् ।
पीडित घिमिरेका अनुसार घटना गत चैत १४ गते दिउँसोको हो । थापाथलीस्थित कलेज अगाडिबाट इनड्राइभ गरी थापाथलीसम्म आउने क्रममा नर्भिक छेउमा पुगेपछि मोटरसाइकल चालक तामाङले अर्को बाटो लान खोजेपछि विवाद भएको थियो ।
घिमिरेले विवादबारे प्रहरीलाई खबर गर्ने बताएर चाबी निकालेका थिए । उनीहरूबीच चाबी खोसाखोस भएको थियो । त्यस क्रममा घिमिरेको दाहिने हातको तीनवटा औँला भाँचिएको प्रहरीले जनाएको छ ।
त्यसपछि इनड्राइभ चालक फरार भएका थिए । घटनाबारे घिमिरेले प्रहरी वृत्त सिंहदरबारमा निवेदन दिएका थिए ।
घटनाको अनुसन्धान गर्ने क्रम्मा प्रहरीले तामाङलाई बुधबार बानियाँटारबाट प्रकाउ गरेको हो । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धानको काम भइरहेको छ ।