कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो

  • कालिका खवर
  • बिहिबार, बैशाख १३, २०८१
  • कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।

    यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती नगएका हुन् ।

    हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयकाअनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । त्यसैले कतारमा हात्ती पठाउन केही ढिलाइ हुने मन्त्रालयले जनाएको छ ।

    यसैबीच कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको थाहा भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले उज्यालोलाई दिनुभएको जानकारीअनुसार ती हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै छन् ।

    कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म ती हात्ती निकुञ्जमै रहने उहाँले स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालका नभएको पनि उहाँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs