बचतकर्ताको पीडा : दिनहुँ वित्तिय संस्था धाउने, आश्वासन लिएर फर्किने, पैसाचाँहि कहिले फिर्ता पाउने ?

  • कालिका खवर
  • बिहिबार, बैशाख १३, २०८१
  • अनुसा थापा, भक्तपुर । सर्वसाधारण दैनिक आ–आफ्नो कामले बाहिर निस्किन्छन् । कुनै जागिर खान, कुनै आफ्नै व्यापार गर्न, कुनै बिरामी भेट्न त कुनै कहाँ । तर, अहिले यसको ठ्याक्कै उल्टो भएको छ । आफ्नो काममा जान छोडेर सहकारी, लघुवित्त र बैंकमा धाउँदै ठिक्क भएको छ,, सर्वसाधारणलाई ।
    सरकारी होस् या निजी कर्मचारी, बहाना बनाएर कार्यालयबाट छुट्टी लिने अनि आफ्नो डुब्या पैसा पाइन्छ कि भनेर सहकारी र लघुवित्त धाउने । व्यापारीहरु सटर नै बन्द गरेर सहकारी र लघुवित्त धाइरहेका छन् । अधिकांश वृद्धवृद्धाले आफ्नो ज्येष्ठ नागरिक भत्ता सहकारी र लघुवित्तमा राखेका थिए ।
    अहिले उनीहरुको पनि त्यही गएर दिनभरी कुर्ने ड्युटी लागेको छ । खाना खायो, वित्तिय संस्थाको कार्यालयमा पुगिहाल्यो । पहिलेपहिले सहकारी, लघुवित्त र फाइनेन्सका कर्मचारी घरघरमा पैसा लिन आउँथे । तर, अहिले विपरीत अवस्था छ । आफ्नो पैसा पाइन्छ कि भनेर सर्वसाधारणलाई कामधन्दा छोडेर वित्तिय संस्थाको पछि लाग्दै ठिक्क भएको छ ।
    आफ्नै पैसाले दुःख दिएको अवस्था छ । एकातिर व्यापार व्यवसाय बन्द गरेर धाउनुपरेको छ भने अर्कोतिर भाडा पाकिरहेको छ । सटरको भाडा तिर्नैपर्यो । अर्काको जागिर खानेलाई पनि कहाँ सुःख छ र । दिनहुँ छुट्टी माग्दा कामबाटै निकालिदिने हो कि भन्ने डर हुन्छ । अहिले धेरैको धन्दा वित्तिय संस्थाको कार्यालय धाउने भएको छ ।
    तर, पैसा भने पाएका छैनन् । आजभोलि भन्दै झुल्याउने काम मात्रै भइरहेको छ । गाउँदेखि शहरसम्म सबैको उस्तै हालत छ । जताततै सहकारी, लघुवित्त र फाइनेन्सले डुबाएका पीडित छन् । फाइनेन्सहरु घाटामा गएका छन् । बैंकको अवस्था पनि पछिल्लो समय त्यस्तै छ ।
    लघुवित्त र सहकारी त भागि नै सकेको छ । भएका छिटफुटले पनि पैसा फिर्ता दिन सकेका छैनन् । बढी ब्याजको प्रलोभन देखाएर बैंक तथा वित्तिय संस्थाले निक्षेप संकलन गर्यो । अहिले फिर्ता गर्नलाई दाँतबाट पसिना आइरहेको छ । वित्तिय संस्थाहरुले आफ्नो सम्पत्ति बेचेर बचत फिर्ता गर्ने आश्वासन दिइरहेका छन् ।
    तर, आश्वासनले मात्र भएन् । उनीहरुको वर्षौसम्म घरजग्गा, शेयर, गाडी र सुन बिक्री नहोला । तबसम्म बचतकर्ता टुलुटुलु रमिता हेरिरहने ? घरजग्गा, शेयर र गाडीको कारोबारमा छपक्कै मन्दी आएको छ । यी क्षेत्रमा लगानी गर्ने मान्छे छैनन् । बढ्दै गरेको सुन पनि अहिले घटेको अवस्था छ ।
    चार हजार कित्तामा सेयर खरिद गर्नेहरु आज चुलुम्मै भएको छ । बैंकले एक सयमा निकालेको सेयर न हो । गाडी खरिदबिक्री पनि सुस्ताएको छ । घरजग्गा कारोबार त ठप्प जस्तै छ । कसले किन्छ घरजग्गा ? आनाको लाख नपर्ने जग्गाको मूल्य दिनको दुई गुणा र रातको चार गुणाले बढाइयो ।
    सुनमा लगानी गर्नेहरुको पनि त्यस्तै अवस्था आउन सक्ने अड्कलबाजी गर्न थालिएको छ । किन कि बजार सँधै माथि मात्र जाँदैन् । तर, यो कुरा नेपालीले बुझ्दैनन् । अहिले बजारमा घरजग्गा, शेयर र गाडी खरिद गर्ने कोही भेटिदैनन् । अझै पनि सहकारी, लघुवित्त र फाइनेन्सका सञ्चालकले हामी धितो बेचेर पैसा फिर्ता गर्छु भन्नु भ्रम छर्नु होइन् ?
    उनीहरु बचतकर्तालाई अल्मलाइरहेका छन् । यता अल्मलाउने उता पैसा फिर्ता नदिने । बुढापाकाले भन्थे,‘पैसा हातले दियो, खुट्टालाई दुःख ।’ आफ्नै पैसाका लागि वित्तिय संस्थाको कार्यालय धाउँदाधाउँदै बचतकर्ताले दर्जनौं जुत्ता फटाइसके । यो क्रम दुई वर्षदेखि चलि नै रहेको छ ।
    तर, पैसा फिर्ता आउने हो कि होइन् ? टुंगो छैन् । सहकारी क्षेत्र ध्वस्त भइसकेको कुरा कसैबाट लुकेको छैन् । अधिकांश सहकारी भागिसकेका छन् भने केही ‘घिटीघिटी’ को अवस्थामा बाँचिरहेका छन् । यता, बैंक पनि डुब्ने जोखिम बढेको छ । धितोको मूल्याङ्कनभन्दा बढीबढी कर्जा दिएकाले बैंकको लगानी पनि धरापमा छ ।
    अधिकांश बैंकको खराब ऋण बढेको छ । बैंक तथा वित्तिय संस्थाले कहाँ कर्जा लगानी गरेको छ ? सरकारले मतलबै गरेन् । छुट दियो । जसको फाइदा तिनीहरुले उठाए । जता नाफा हुन्छ, त्यतै आँखा चिम्लेर लगानी गरे । जबकी त्यो बैंक तथा वित्तिय संस्थाको होइन्, आम सर्वसाधारणको बचत थियो ।
    एक सयको सेयर रातारात चार हजार पुग्यो । भारतमा एक लाख नपर्ने गाडी यहाँ ३५ लाखमा दलालीले बेचे । घरजग्गाको त कुरा गरिसाध्य छैन् । व्यक्ति पनि घरजग्गा मै लगानी गर्ने, बैंक तथा वित्तिय संस्था पनि । अहिले सबै त्यसकै असर हो । रातारात तीन गुणा बढी नाफा कमाउन खोज्दा करोडौं बचतकर्ताको बिल्लीबाठ भएको छ ।
    अहिले बैंकले कर्जा उठाउन सकेको छैन् । धितो भएर के गर्नु । किन्ने मान्छे हुनुपरेन् । धितो चपाउन मिलेन् । सरोकारवाला निकायले नियमन नगर्दा र रातारात नाफा कमाउन खोज्दाको परिणाम हो यो । यसले बैंक तथा वित्तिय संस्थामाथि आम सर्वसाधारणको विश्वास गुमेको छ ।
    बचतकर्ताले घरजग्गामा लगानी गर भनेर त आफ्नो पैसा राखेका थिएनन् । उत्पादनमूलक क्षेत्रमा लगानी गरेको भए सायदै आज यो दिन देख्नुपर्थ्यो । बचतकर्ता डुबाउनमा सरकार पनि उत्तिकै दोषी छ । बैंक तथा वित्तिय संस्थाले जता नचायो, त्यतै नाँच्दा आज यो अवस्था बन्यो ।
    सहकारीका बचतकर्ता त सडकमै आइपुगेका छन् । कतिपयको जीवनभरको कमाइ र सम्पत्ति बेचेर राखेको पैसा सहकारीले स्वाहा बनाइदिएको छ । लघुवित्तको हकमा पनि त्यही नै छ । अब बैंकले पनि बचतकर्तालाई सडकमा पुर्याउन बेर छैन् । आफ्नो पैसा डुबेको सहन नसकेर कतिपयले आत्महत्या गरे ।
    पीडा सहन नसक्दा कतिपयको हृदयघातबाट ज्यान गयो । कतिपय रोगी बने । सहकारी र लघुवित्तले यस्तो पीडा दियो कि बयान गरिसाध्य छैन् । आम सर्वसाधारणको आँखामा बैंक तथा वित्तिय संस्था ‘चोर र ठग’ हो । तर, सरकार सुनेर पनि सुनेझैं गर्छ । एक जनाको मात्र पीडा होइन् यो ।
    करोडौं बचतकर्ताको खर्बौं रुपैयाँ डुबेको छ । तर, सरकारलाई मतलब नै छैन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी बैंकमा कुनै समस्या नभएको बताउँछन् । त्यसो त दिनदिनै सञ्चारमाध्यममा छापिएका खबरहरु चाँहि के हो ? बैंक सर्वसाधारणको नजरबाट गिरिसकेको छ ।
    बैंक तथा वित्तिय संस्थामा यत्रो समस्या देखिसक्दासमेत अर्थमन्त्री वर्षमान पुन र सहकारीमन्त्री बलराम अधिकारी ‘चिल’ पारामा बसिरहेका छन् । बचतकर्ताको पीडा तिनले देखेकै छैनन् । बैंक तथा वित्तिय संस्थाका सञ्चालक बचतकर्ताको पैसा नदिने, घरमा लगेर लुकाउने ।
    कतिपयले विदेशी बैंकमा लगेर थुपारेका छन् । बचतकर्तालाई ‘छैन्’ भन्ने अनि लगेर लुकाउने । सरकार न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सक्छ न लुकाएको पैसा खोज्न सक्छ । बजारमा व्यापक आर्थिक मन्दी देखिएको छ । सरकार भने लगानी सम्मेलनको नौटंकी देखाएर बसिरहेको छ ।
    नेपालको अर्थतन्त्र संकटमा छ भन्ने कुरा विश्वलाई नै भइसकेको छ । यस्तो संकटमा परेको देशमा कसले लगानी गर्ने ? उद्योग व्यवसायी शेखर गोल्छाले केही समयदेखि मुलुकको अर्थतन्त्र सात दशक अघिकै अवस्थामा पुगेको बताएका थिए । २०८०–८१ को बजेटमा सरकारले लिएको करको लक्ष्य पनि पूरा हुन सकेन् ।
    ४० प्रतिशत पनि कर उठेन् । जुनसुकै सम्मेलन गरेपनि देशको अवस्था त्यही हो । पहिले देशभित्र के भइरहेको छ ? त्यो हेर । व्यथैमा जनताले तिरेको कर सकाउने खेल भइरहेको छ । यस्तो नौटंकीले कतिञ्जेल देश चल्ला ?
    अनुसा थापा
    भक्तपुर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs