
विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले आफ्नो प्रभाव हरेक क्षेत्रमा पारिरहेको छ । यसैबीच च्याटबट निर्माता कम्पनी ओपन एआईले एप्पलको आइफोनसँग मिलेर केही महत्वपूर्ण काम गर्दैछ ।
समाचार अनुसार यो वर्ष आइफोनमा केही नयाँ एआई जेनेरेटिभ फिचरहरु आउने सम्भावना छ ।
एप्पलको अपरेटिंग सिस्टम आईओएसको आगामी संस्करण आईओएस १८ मा जेनेरेटिभ एआई फिचरलाई कसरी आबद्ध गर्ने भन्ने विषयमा एप्पल र ओपन एआईबीच छलफल भैरहेको बताइएको छ । यद्यपि दुवै कम्पनीले यसबारेमा आधिकारिक रुपमा केही पनि बताएका छैनन् ।
हुनत एप्पलको नयाँ आइफोनमा गुगल जेमिनी च्याटबट प्रिइन्स्टल्ड हुने हल्ला पनि चलेको थियो । त्यसैले आफ्ना आइफोनमा जेनेरेटिभ एआई फिचर राख्नका लागि गुगल तथा ओपन एआईमध्ये कोसँग साझेदारी गर्ने भन्ने विषयमा एप्पल अझैपनि टुंगोमा पुग्न नसकेको बताइन्छ । तथापि च्याट जिपिटीको लोकप्रियतासँगै ओपन एआईकै पल्ला भारी भएको अनुमान गरिएको छ।