कक्षा कोठामा शिक्षामन्त्री : ‘पुस्तक पुनःप्रयोग गर्न जतन गरेर राख्नुहोस्’

  • कालिका खवर
  • सोमवार, बैशाख ३१, २०८१
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पुस्तक पुनःप्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले विद्यार्थीकै हितमा प्रयोग गर्न सक्ने बताउनुभएको छ । मन्त्रालयले आगामी बजेटमा पुस्तक पुनःप्रयोगबारे कार्यक्रम राखेको छ ।

    हिजो काठमाण्डौको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुहुँदै पुस्तक जतन गरेर राख्न उहाँले सुझाव दिनुभयो । ‘तीन अर्बभन्दा बढी रकम हरेक वर्ष पुस्तक छाप्न खर्च हुन्छ, त्यसको केही प्रतिशत मात्रै हामीले बचाउन सक्यौँ भने त्यो रकम विद्यार्थीकै खाजा र अरू कार्यक्रममा खर्च गर्न सकिन्छ’, मन्त्री श्रेष्ठले भन्नुभयो ।

    उहाँले विद्यार्थीहरुलाई किताब कसरी विद्यार्थीको हातमा पुग्छ भन्ने प्रक्रियाबारे बुझाउनुभएको थियो । ‘पाठ्यक्रम विकास केन्द्रले किताब तयार गरेर छाप्न जनक शिक्षा सामाग्री केन्द्रलाई दिन्छ र केन्द्रले पुस्तक छापेर प्रादेशिक डिपोमा पठाउँछ । प्रादेशिक डिपोले जिल्लागत स्थानीय बिक्रेता कहाँ पठाउँछ र त्यहाँबाट विद्यालयले  खरिद गरी विद्यार्थीलाई पुस्तक दिन्छ’, मन्त्री श्रेष्ठले भन्नुभयो । उहाँले पुस्तकलाई ढोग्ने र सुरक्षित राख्ने हाम्रो संस्कार रहेकाले  पुस्तक सुरक्षित राख्न आग्रह गर्नुभयो ।

    आठ कक्षाको मात्रै पुस्तक अर्कोपल्ट प्रयोग गर्ने हो भने खाजा खर्च २० रुपैयाँ गर्दा एक लाख ३६ हजार छ सय १३ जना अरू विद्यार्थीले दिवा खाजा पाउने उहाँको भनाइ थियो  । सरकारले पुस्तक सुरक्षित राखेर फिर्ता गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति बनाइरहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs