वीरगंजका मेयर विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा

  • कालिका खवर
  • सोमवार, बैशाख ३१, २०८१
  • वीरगंज – वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिकाकाे–४ विर्तामा रहेको त्रिजुद्ध माद्यमिक विद्यालयबाट उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

    कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए । आफ्ना अग्रजको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कमी नल्याउन पनि उनले जोड दिए ।

    यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गरेका हुन् ।

    विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन उनले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिने गरेकाे उनका सचिवालयले जनाएकाे छ ।

    मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध मा.वि.का प्रधानाध्यापक नविन मिश्रले बताए ।

    कक्षामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिनु भएको थियो ।

    मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्दै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । यस्तै कक्षा पाँचका विद्यार्थीलाई मेयर सिंहले पुस्तक समेत हस्तान्तरण गर्नुभएको थियो ।
    महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाईका लागि डिजिटल कक्षा समेत संचालन गर्न सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs