चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

  • कालिका खवर
  • बुधबार, जेष्ठ ९, २०८१
  • चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका आउँदो शनिवारदेखि खुला हुने भएको छ । उत्तरी क्षेत्र चीनसँगको किमाथाङ्का नाका यही जेठ १२ गतेदेखि खुल्ने भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले पनि किमाथाङ्का नाका खुल्ने जानकारी प्राप्त भएको पुष्टि गर्नुभयो ।

    सरकारको पटक पटकको आग्रहपछि चीन सरकारको औपचारिक रुपमा नाका खुलाउन लागेको हो । कोरोना सङ्क्रमण जोखिमका कारण चीन सरकारले २०७६ साल माघ ५ गतेदेखि किमाथाङ्का नाका बन्द गरेको थियो । त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ । त्यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए ।

    विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ । उत्तरी क्षेत्रमा २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तत्कालीन द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारीमा रहेको छ ।

    भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरणको काम सकिएको अध्यक्ष भोटेले बताउनुभयो । किमाथाङ्का बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो ।

    झण्डै ६ हजार सङ्ख्यामा बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs