आम्दानी शून्य, बजेटको आकार ठूलोः झारा टार्ने पारामा सरकार !

  • कालिका खवर
  • बुधबार, जेष्ठ ९, २०८१
  • अनुसा थापा, भक्तपुर । देशैभर जनताको मतबाट चुनिएर आएका ३५ हजार ९२७ जनप्रतिनिधि छन् । त्यस्तामा स्थानीय जनप्रतिनिधिदेखि लिएर सांसदसम्म पर्छन् । यी सबैले सरकारी गाडी चढ्छन् । तलबभत्ता, बैठक भत्ता पनि लिन्छन् । सरकारले कसैलाई दुई पाङ्ग्रे त कसैलाई चार पाङ्ग्रे सवारी साधन दिएको छ ।
    जनप्रतिनिधिले तीन लाखदेखि २५ करोड रुपैयाँसम्म पर्ने गाडी चढेका छन् । त्यो गाडीमा लाग्ने इन्धन, मर्मत खर्च, ड्राइभरको तलबलगायतका आर्थिक भार पनि सरकारले नै व्यहोर्दै आएको छ । मेयर, उपमेयर, सांसद, मन्त्रीहरुले स्वकीय सचिव राख्छन् । स्वकीय सचिवलाई पनि सरकारले नै तलब दिन्छ ।
    उसले पनि सरकारबाटै गाडी पाउँछ । देशविदश घुम्ने खर्च छुट्टै छ । सरकारले दिएपनि आउने त जनताले तिरेको करबाटै हो । जनप्रतिनिधिहरुले जनताले तिरेको करबाट मासिक लाखौं रुपैयाँ लिन्छन् । अहिले एउटा वडाध्यक्षको मासिक तलब ५० हजार होला । भत्ता छुट्टै छ ।
    मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको तलब हजारमा छ तर बैठक भत्ता जोड्दा लाखौं पुग्छ । बैठक बसेपिच्छे जनताले तिरेको करबाट खाजा खाइन्छ । एकातिर सरकारी कर्मचारीलाई तलब, भत्ता, गाडी, वर्षमा दुई जोर पोशाक दिँदादिँदै देश खोक्रो बनिसक्यो । अर्कोतिर उनीहरुको नसकिने सेवासुविधा ।
    देश चलाउन आएकाहरुले आफ्नो भोटका लागि धमाधम तलबभत्ता बढाउने काम मात्र गरे । सरकारी कर्मचारीले पद र जिम्मेवारीअनुसार ३२ हजारदेखि लाखौं रुपैयाँसम्म मासिक तलब पाउँछ । भत्ता छुट्टै छ । उसले पाउने सेवासुविधाको हिसाब नै गरिएको छैन् । अहिले मुलुकमा सरकारी कर्मचारीको संख्या दशौं लाख छ ।
    सुरक्षाकर्मी, निजामती सेवालगायत गरेर लाखौं कर्मचारी सरकारले पालिरहेको छ । पेन्सन खाने पनि वर्षैपिच्छे बढ्दै छन् । २२ हजारदेखि ८० हजारसम्म पेन्सन थाप्ने भूपू कर्मचारी छन् । तिनको संख्या पनि लाखौंमा छ । मासिक चार हजार भत्ता बुझ्ने ज्येष्ठ नागरिक पनि लाखौं छन् ।
    सरकारले ६८ वर्ष पुगेकालाई ज्येष्ठ नागरिक भत्ता दिँदै आएको छ । एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई पनि भत्ता दिने गरिएको छ । राज्यको दैनिक खर्च बढेको बढ्यै छ । सरकारले बैठक बसेपिच्छे भत्ता दिने भनेकाले उद्देश्यबिना बैठक बस्ने गरिएको छ । कुनै विषय नै हुँदैन्, यत्तिकै बैठक बस्छन् ।
    खजा मगाउने, बैठक बसेको भनेर गफ ठोक्ने अनि राज्यलाई आर्थिक भार थप्ने काम मात्र भइरहेको छ । २० हजार छन् भने ५० पोका खाजा मगाउँछन् । खान सक्ने खायो, नसक्ने घरतिर दौडायो । जनताको सेवा गर्न राखिएका सरकारी कर्मचारी जनतालाई नै अपहेलित गर्ने खालका बने ।
    जनताले खाईनखाई तिरेको करमाथि यिनीहरुले मोजमस्ती गरिरहेका छन् । सरकारले दिएको तलब, भत्ता, सेवासुविधाले नपुगेर यिनीहरु खुलेआम भ्रष्टाचारमा उत्रिएका छन् । सरकारी कार्यालयहरुमा व्यापक भ्रष्टाचार मौलाएको छ । कार्यालयमा आवश्यक सामान खरिदमा भ्रष्टाचार, सेवा दिएबापत घुस लिएर भ्रष्टाचार, यो क्रम विगतदेखि चलिरहेको छ ।
    पाँच हजारको सामान किन्यो भने लाखको बिल बन्छ । कमिशनका लागि अनावश्यक सामान खरिद गरेर राज्यलाई हानिनोक्सानी पुर्याइन्छ । सामानहरुको अलिकति पनि सदुपयोग छैन् । खरिद गरेर ल्याउन नपाईकन सामान बिगार्ने, घर लैजाने र पुनः खरिद गर्ने । कमिशनका निम्ति यस्तो खेल चलिरहेकै छ ।
    सरकारले सरकारी कर्मचारीलाई पनि गाडी दिएको छ । तीन लाखदेखि करोडसम्मका गाडी चढ्ने सरकारी कर्मचारी छन् । छिटो कार्यालय पुगेर सेवाग्राहीलाई सेवासुविधा दिऊन् भनेर सरकारले सरकारी कर्मचारीलाई गाडी दिएको हो । तर, सरकारको उद्देश्य एकातिर, सरकारी कर्मचारी ‘कुम्लो बोकी अर्कोतिर’ देखिएका छन् ।
    सरकारी कर्मचारीलाई इन्धन, ड्राइभर पनि सरकारले नै उपलब्ध गराउँदै आएको छ । वास्तवमा भन्ने हो भने सरकारी गाडीको सदुपयोगभन्दा धेरै दुरुपयोग भइरहेको छ । सरकारी गाडी सरकारको सम्पत्ति हो । तर, सरकारी कर्मचारीले आफ्नो निजीझैं गरेका छन् ।
    बिदाको दिन गाडी चढाउँछन्, इन्धनको बिल सरकारको खातामा जोडिन्छ । आफ्नो आफन्तलाई सिकाउँदा गाडी ठोक्काउँछन्, कुचाउँछन् । भर्पाइ सरकारले गर्नुपर्छ । मर्मत गर्दा पनि घुस खान्छन् । २० हजार लाग्यो भने लाखको बिल बन्छ । सरकारी कार्यालयहरुमा नयाँ नयाँ गाडीमा झार उम्रिएर बसेको छ ।
    जबकी गाउँघरमा एउटा एम्बुलेन्स पुग्न नसकेको विडम्बनापूर्ण अवस्था छ । सवारी साधन नहुँदा समयमा अस्पताल पुर्याउन नसकेर ज्यान गुमाएको, डोकोमा बोकेर अस्पताल लैजान परेकोलगायतका समाचारहरु आइरहेको हुन्छ । तर, सरकारको ध्यान यतातर्फ जाँदैन् । जनताले तिरेको सम्पूर्ण कर सरकारी कर्मचारीलाई पोस्न सरकार लागिपरेको छ ।
    जसका कारण तिनलाई मात लागेको छ । सरकारले नै जनतालाई अपहेलना गरिरहेको अवस्था छ । सरकारले पोस्दापोस्दै कर्मचारी जुकाझैं मोटाएका छन् । सरकार सेवासुविधा थुपारेको थुपारै गर्छ, काम गर्नु छैन् । अनि त्यो त स्वभाविकै हो । कर्मचारीहरुलाई जति खाए नि पुग्दैन् भन्ने थुप्रै उदाहरण छन् ।
    फिल्ड भिजिट भन्छन् । एकदिन यसो गएकोझैं गर्छन् अनि पाँच दिन गएको भनेर भत्ता बुझ्छन् । आधा दिनमा हल्लिँदै कार्यालय आयो । पुरा समय नबसिकन टाप कस्यो । यस्तो पाराले जनताले कसरी सहज रुपमा सेवासुविधा पाउँछन् ? अधिकांश कार्यालयमा कर्मचारी कुर्सीमा भेटिँदैनन् ।
    सामान्य कामका लागि महिनौ धाउनुपर्ने बाध्यता आम सर्वसाधारणलाई छ । कर तिर्ने पनि जनता, दुःख पाउने पनि जनता । पछिल्लो समय हरेक सरकारी कार्यालय राजनीतिक दलहरु र माथिल्ला तहका कर्मचारीहरुको भर्ती केन्द्र बनेको छ । ६५ हजार बढी त करारकै कर्मचारी छन् ।
    त्यो कर्मचारीलाई पनि जनताले पाल्नुपरेको छ । अहिले एउटा करार कर्मचारीको तलब २५ हजार बढी होला । ६५ हजारको मासिक कति हुन्छ ? उपलब्धि केही छैन्, खर्च बढेको बढ्यै । करारका कर्मचारीलाई पनि सरकारी कर्मचारीझैं चाडबाड पेश्की दिनुपर्छ । सरकारी कर्मचारीको उपचार सरकारले नै गर्दै आएको छ ।
    सुरक्षाकर्मीलाई त खाना, पोशाक, उपचार सबै सरकारले नै व्यहोर्नुपर्छ । राज्यको खर्च यत्रो छ । जनताले तिरेको कर त सरकारी कर्मचारीको सेवासुविधामै पुग्दैन् । अन्य विकासको खर्च कहाँबाट धानिन्छ ? सरकारले २७ खर्ब बढी विदेशी ऋण लिइसकेको छ । त्यसको सावाब्याजबापत मासिक अर्बौं रुपैयाँ तिर्नुपर्छ ।
    यता, धमाधम आन्तरिक ऋण उठाइरहेको छ । सरकारले एउटाबाट ल्याउने अर्कोलाई किस्ता तिर्ने काम गरिरहेको छ । सरकार झारा टार्ने पारामा चलिरहेको छ । मुलुकमाथि विदेशी हस्तक्षेप बढिरहेको छ । यहाँका राजनीतिक दलको लाचारितापनका कारण यो अवस्था निम्तिएको छ ।
    छिमेकीहरुले पनि नेपाललाई अपहेलना गरिरहेका छन् । विभिन्न बहानामा मुलुकको भूभाग मिच्न खोजिरहेका छन् । यहाँ उद्योग, कलकारखाना केही छैन् । आम्दानीको स्रोत पनि छैन् । कृषिप्रधान देश नाममा मात्र सीमित भएको छ । जमिन सकिसक्यो, उत्पादन केही छैन् । जग्गा पनि खण्डीकरण गरेर सकाइयो ।
    जलविद्युतको धनी भनिएको छ तर सदुपयोग छैन् । २०४६ सालपछाडि मुलुक झनझन् नाजुक बन्दै गयो । आत्मनिर्भर मुलुक परनिर्भर बन्न पुग्यो । नेपाली धमाधम विदेशिन बाध्य भए । रोजगारी छैन् । स्वदेशमै केही गरौं भन्ने वातावरण सरकारले निर्माण गर्न सकेको छैन् । सरकारले अब के आधारमा देशको खर्च धान्ने ? विदेशी ऋण कसरी तिर्ने ?
    सबैतिर समस्यै समस्या छ । सरकारसँग केही योजना छैन् बस् बजेटको आकार मात्र ठूलो बनाउन लागिपरेको छ । अझैपनि विकासको नारा लगाइरहेका छन् । जनतामा भ्रम छर्ने काम मात्र भइरहेको छ ।
    अनुसा थापा
    भक्तपुर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs