सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न अदालतको आदेश

  • कालिका खवर
  • बुधबार, जेष्ठ ९, २०८१
  • वीरगंज – सम्मानित जिल्ला अदालत पर्साले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश दिएको छ । पत्रकार हरिशंकर शर्मा सहितका ५ जनाले दिएको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले चौरसियालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश दिएको हो । वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मा सहित पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, रन्जित पंडित एवं कुश दैनिक डटकमका संचालक अरुण कुशवाहाले संयुक्त रुपमा साइबर अपराध अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।

    पर्सा जिल्ला अदालतले मंगलबार साँझ चौरसियालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतले चौरसियालाई पक्राउ गर्न आदेश दिएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । चौरसियाले पत्रकारिताको आवरणमा बेला बखत विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै आएका छन् । पत्रकारका खोल ओढेर आफ्नो स्वार्थ पुरा गर्न पल्केका चौरसियाले शिक्षाकर्मी, व्यवसायी, पत्रकार एवं प्रहरीलाई आर्थिक लाभ नपाएपछि धम्काउने, थर्काउने गरेका छन् ।

    जुनसुकै क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट आर्थिक लाभ पुरा नभएपछि विभिन्न अनलाइनमा आधारहीन, भ्रामक समाचारहरु प्रकाशन गर्ने र त्यतिले पनि स्वार्थ पुरा नभएपछि सामाजिक सञ्जाल फेसबुकमा अनाब, सनाब लेखेर चरित्र हत्या गर्ने गरेका छन् । सोही क्रममा विगत एक महिनादेखि पोखरिया नगरपालिकाबाट आर्थिक लाभ पुरा नभएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, अरुण कुशवाहाको चरित्र हत्या गरेका थिए ।

    उनीबाट आजित भई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जिल्ला अदालत पर्सामा गाली बेइज्जतीको मुद्दा हालेपछि त्यही समाचार लेखेकै आधारमा वीरगंज टाइम्सका संचालक पत्रकार हरिशंकर शर्माको चरित्र हत्या गरेका थिए । त्यसकै विरुद्ध पाँचै जनाले जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा साइबर अपराध सम्बन्धी जाहेरी दिएपछि जिल्ला अदालत पर्साले चौरसिया विरुद्ध पक्राउ आदेश जारी गरेको हो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध मुद्दा चलाइएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs