मापसे गरेर कारबाहीमा परेका ६ सय ४ जनालाई प्रहरीले स्वयंसेवक बनाएर सडकमा खटायो

  • कालिका खवर
  • बुधबार, जेष्ठ १६, २०८१
  • ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेका सवारी चालकलाई स्वयंसेवकको रूपमा सडकमा खटाइएको छ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा फेसबुक स्टाटस लेख्दै महिनावारी भएका ट्रफिक प्रहरीलाई चारदिन सडकमा नखटाइने र त्यसको साटो मापसे गरेका सवारी चालकलाई खटाइने बताएका थिए । त्यसको एकदिन पछि नै उनको स्टाट्सलाई ट्राफिक प्रहरीले कार्यान्यनमा ल्याएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए ।

    ‘गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार आजबाटै कार्यान्वयनमा गइसकेका छौं, बिहान ९ बजेदेखि ५ बजेसम्म उहाँहरुले सडकमा ट्राफिक व्यवस्थापन गर्नुहुनेछ’, श्रेष्ठले भने, ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतमा उहाँहरु खटिनुभएको छ ।’

    बुधबार मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन् । हरेक समूहको साथमा एक जना प्रशिक्षित ट्राफिक प्रहरी हुने श्रेष्ठ बताउँछन् । ‘उहाँहरुले अब सडकमै उभिएर आफ्नो सुरक्षा पनि हेर्नुहुन्छ र टाफिक प्रहरीलाई पनि सहयोग गर्नुहुन्छ’, उनले थपे ।

    उपत्यकामा १८ सय ट्राफिक प्रहरी सडक व्यवस्थापनमा खटिन्छन् । तीमध्ये कम्तीमा ३ सय महिला प्रहरी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

    ट्राफिक प्रहरीको तथ्यांक अनुसार, अहिले दैनिक कम्तीमा ३ हजार जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् । तीमध्ये सचेतना कक्षा लिनुपर्नेहरु दैनिक ६ सय जना हुने ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs