देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहँदा मध्य र पश्चिमी तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्नेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी, प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र बागमती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
कोशी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
यसैबीच, आजदेखि तीन दिन देशका केही भूभागमा तातो हावा र तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ । मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी आजदेखि असार २ गतेसम्म अत्यधिक गर्मीको सम्भावना रहेको हो ।
कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ ।
हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।