
भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू निर्वाचित भएको क्षेत्र वायनाड छाड्ने हुनुभएको छ ।
राहुल गान्धीले केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट लोकसभा चुनाव जित्नुभएको थियो । अब गान्धीले वायनाडको सिट खाली गर्ने र उहाँकी बहिनी तथा नेत्री प्रियङ्का गान्धीलाई त्यहाँको उपचुनावमा उम्मेदवार बनाउने भारतीय कांग्रेसले जनाएको छ ।
कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रियङ्का गान्धी वायनाडबाट चुनाव लड्ने घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
यस्तै पत्रकार सम्मेलन गर्दै नेता राहुल गान्धीले आफूले एउटा सिट रोज्नैपर्ने भएकाले वायनाड छाडेको तर त्यहाँ जान नछाड्ने बताउनुभएको छ । यस्तै प्रियङ्काले पनि आफ्ना लागि रायबरेली र अमेठी निकै प्रिय ठाउँ भएकाले त्यहाँ पनि गइरहने बताउनुभएको छ ।
प्रियङ्का गान्धीले उम्मेदवारको रूपमा पहिलो पटक चुनावमा भाग लिनुहुनेछ । प्रियङ्काले वायनाडका नागरिकलाई राहुल गान्धीको अभाव महसुस गर्न नदिने बताउनुभएको छ ।