गृहमन्त्री रवि लामिछानेलाई सुझावः बोलेर होइन्, काम गरेर देखाऊ !

  • कालिका खवर
  • बुधबार, असार ६, २०८१
  • अनुसा थापा, भक्तपुर । नेपालीमा एउटा चर्चित उखान छ,‘भोक्ने कुकुरले टोक्दैन्, टोक्ने कुकुरले भुक्दैन् ।’ यसको अर्थ काम गर्नलाई दुनियाँलाई सुनाइरहन आवश्यक छैन् । चुपचाप काम गर्न सकिन्छ । काम गरेको नतिजा त जनताले देखिहाल्छन् । छिमेकी होस् या अन्य मुलुक उनीहरुको हरेक निर्णय गुमसुममै हुन्छ ।
    उनीहरु बोल्नभन्दा पनि काम गर्नमा बढी विश्वास राख्छन् । त्यसैले त उनीहरुको देशले विकासमा फड्को मारिरहेको छ, जनताले सुःख पाएका छन् । भारतकै एउटा उदाहरण नै यसका लागि काफी छ । २०७३ सालमा भारत सरकारले कसैले सुइँको नपाउनेगरी पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाइदियो ।
    पछि मात्र सञ्चारकर्मी र जनताले थाहा पाए । तर, नेपालका नेताहरुको पेटमा केही टिक्दैन् । मन्त्रिपरिषद्को बैठक बस्नुअगावै सबै छताछुल्ल भइसकेको हुन्छ । उनीहरुले माफियाहरुलाई पहिले नै सूचित गराएका हुन् कि ? यो निर्णय हुँदैछ छ है, रोक्न चाहन्छौं भनेर पैसा लिएर आउ भन्न खोजेझैं देखिन्छ ।
    माफियाहरुले त आफूलाई घाटा हुने निर्णय हुनै दिँदैनन् । पैसा खान दिएर हुन्छ कि भन्सुन गरेर रोकिदिन्छन् । पहिले एउटा गोप्य निर्णय भएको थियो । त्योबाहेक कुनै निर्णय गोप्य रुपमा भएको छैन् । गृहमन्त्री हुँदा वामदेव गौतमले कसैले थाहा नपाउनेगरी आईजीपी अच्युतकृष्ण खरेललाई पदमुक्त गरेका थिए ।
    उनको सामसुम सो प्रस्ताव मन्त्रिपरिषद्मा लगेर स्वीकृत गर्न लगाएका हुन् । वर्तमान गृहमन्त्री रवि लामिछाने जतिबेला पनि फाइल खोल्छु भन्छन् । उनले भन्न जानेको यति मात्र हो । पद सम्हालेदेखि उनको मुखबाट एउटै बोली निस्किरहेको छ । तर, बोलीमै सीमित भएको देखिन्छ ।
    गृहमन्त्री लामिछानेले वर्तमान आईजीपी वसन्त कुँवरलाई हटाउन खोजेको चर्चा छ । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस विषयमा स्पष्टीकरण दिइसकेका छन् । उनले एउटा सार्वजनिक कार्यक्रममा आईजीपी कुँवर फेर्न सम्भव नरहेको जनाएको छ । प्रधानमन्त्रीले त्यो बोल्ने शब्द हो ?
    गृहमन्त्रीले पनि ढिन्ढौरा पिट्नुभन्दा अगाडि मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्थ्यो । के कारणले चाँहि आईजीपी हटाउने ? देखाउन सक्नुपर्यो । फेरि गृहमन्त्रीले चाहेर मात्र पनि आईजीपी हट्दैन् । सबैबीच छलफल हुन्छ । उनले गरेका काम हेरिन्छ, काम गर्ने क्षमता हेरिन्छ ।
    अनि निर्णय लिइन्छ । तर, यहाँ त पहिले नै मैले यो गर्न लागेको भनेर फुकिसक्छन् । अनि त्यस विषयमा टिकाटिप्पणी शुरु हुन्छ । एउटाले यो भन्छन्, अर्कोले त्यो । अनि कार्यान्वयनमा जाने त कल्पनाबाहिरकै विषय बन्छ । धेरै निर्णय यसरी नै तुहिएका छन् । व्यक्ति होइन्, उसको काम गर्ने क्षमता हेरौं ।
    कुनै निर्णय गर्दा त्यसले राष्ट्र र जनतालाई कति फाइदा हुन्छ ? त्यो मनन गर्न सिकौं । अदालतले बालमन्दिरको जग्गा हिनामिना गर्नेहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको महिनादिन नाघिसक्यो । तर, प्रहरीले कसैलाई पक्राउ गरेको छैन् । एउटालाई समातेको थियो, त्यो पनि छोडिदियो ।
    यस्तो पाराले हुन्छ ? अदालत पक्राउ पूर्जी जारी गर्ने, प्रहरी थमाइदिने । अदालत माथि की प्रहरी ? राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार जना मन्त्री छन् । शिक्षामन्त्री सुमना श्रेष्ठ र श्रममन्त्री डिपी अर्यालको अहिले सबैतिर ‘हाईहाई’ छ । किन कि उनीहरुले काम गरिरहेका छन् ।
    तर, पार्टी सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ काम गर्दैनन्, खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको छु मात्र भन्छन् । जनताको आँखामा छारो हाल्ने पनि हद हुन्छ नि । जनताले उनीहरुले केही काम गरेको देखेका छैनन् । त्यसैले राजीनामा दिन ढिलाइ भइसकेको छ ।
    गृहमन्त्री लामिछाने जतिबेला पनि हामीलाई काम नै गर्न दिएनन् भनिरहेका हुन्छन् । ल उनले कतिवटा प्रस्ताव मन्त्रिपरिषद्मा लगेछन् ? त्यसको जवाफ दिनुपर्यो । त्योमध्ये कतिवटा फेल र पास भए ? यो पनि सार्वजनिक गरिनुपर्यो । अनि त्यसपछि मलाई काम गर्न दिइएन् भन्दा उचित होला ।
    प्रस्ताव नै नलैजाने अनि हामीलाई काम गर्न दिएन् भनेर बोल्न मिल्छ ? त्योपनि मन्त्रीजस्तो व्यक्तिले । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ साहलाई आज देश–विदेशले चिन्छ ? उनको अनुहार हेरेर देश–विदेशले मनपराएको हो ? होइन् । आज सबैतिर बालेनको ‘वाहवाही’ हुनुको कारण उनको काम हो ।
    उनी धेरै बोल्दैनन् । मैले यो गर्न लागेको छु भनेर उनी चिच्याइचिच्याई भन्दैन् । बालेनले टुकुचा भत्काए । कसैले भत्काउँछन् भन्ने थाहा थियो ? सुइँको नपाउनेगरी डोजर लिएर पुगे । भत्काए, पछि अदालतले रोक्यो । उनको न्यूरोड क्षेत्रमा रहेको पार्किङ्ग हटाए । फुटपाथ विस्तार गर्न खोजे ।
    तर, अरुले काम गरेको देख्न नसक्ने एमालेका केही तन्तु र सडक डिभिजन काठमाडौंले रोक्यो । भत्काइसकेको सडक पनि पुरिदियो । सुकुम्बासी हटाउन उनले धेरै प्रयास गरे । नगरप्रहरीले कुटाइ खाए । तर, भोटका लोभीहरुले सुकुम्बासीका नामका हुकुम्बासीलाई हटाउन दिएनन् ।
    बालेनको हरेक पाइलामा अवरोध छन् । उनी काम गर्न खोज्छन्, यद्यपि यताउता गरेर रोकिहाल्छन् । जे भएपनि उनले काम गर्न खोजेको सारा नेपालीले देखेका छन् । उनलाई कामको बाटोमा को–को अवरोध बनेका छन् ? यो पनि जनताले हेरिरहेका छन् । बालेनले शुरु गरेको काम पूरा नहोला तर जनतामा ‘कोसिश त भयो’ भन्ने छ ।
    त्यसैले बोल्नु ठूलो कुरा होइन्, गर्नु ठूलो कुरा हो । जनतालाई बोल्ने होइन्, गर्ने नेतृत्व चाहिएको छ । रास्वपाका चार जना मन्त्रीमध्ये दुई जनाले ताली त दुई जनाले गाली खाइरहेका छन् । यसले के स्पष्ट पार्छ भने जनताले अब पार्टी होइन्, काम गर्ने नेतृत्व खोजिरहेका छन् ।
    काम गर्नेको तारिफ हुन्छ, नगर्नेको अर्को निर्वाचनमा धुलाई । प्रधानमन्त्री होस् या मन्त्री, पदभार ग्रहण गर्नुभन्दा अगाडि शपथ खाएका हुन्छन् । देश र जनताका लागि निर्णय गर्छु, कसैको प्रभाव र दबाबमा पर्दिन् भनेर उनीहरुले शपथ खान्छन् । आफ्नो मन्त्रालयबाट हुने काम मन्त्रीले निर्धक्क गर्न पाउँछन् ।
    उनले निर्णय गर्दा प्रधानमन्त्रीले हस्तक्षेप गर्न पाउँदैनन् । मन्त्रीले मन्त्रिस्तरीय निर्णय गर्न सक्छन्, सरुवाबढुवा मन्त्रीकै हातमा हुन्छ । प्रधानमन्त्रीले यो गर–त्यो नगर भन्न पाउँदैनन् । सबैले आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्छ । गृहमन्त्री लामिछाने हिजो सञ्चारकर्मी थिए ।
    सञ्चारकर्मी हुँदै उनी राजनीतिमा छिरेका थिए । छोटो अवधिमा उनी गृहमन्त्री बन्न सफल भए । अब उनले काम गर्नुपर्छ । मौका दोहोर्याई–तेहेर्याइ आउँदैन् । जे होला–होला, म काम गर्छु भन्ने अठोट लिनुपर्यो । दिनमा दर्जनौं फाइल खोलिदियौं । बोल्दै नबोलि काम गर्नुपर्यो । अनि मात्र रास्वपाको पक्षमा जनता आउलान् ।
    लामिछानेलाई दुईपटक चितवनका जनताले निर्वाचित गरेर पठाएका हुन् । यो सानो कुरा होइन् । उनले जनताका लागि मरिमेटेर काम गर्नुपर्थ्यो । विडम्बना, गर्न सकेनन् । उनी काम गर्नभन्दा पनि धेरै समय बोल्नमा खर्चिन्छन् । जसको असर उनैलाई भइरहेको छ । त्यसको फाइदा त माओवादी र एमालेलाई भइरहेको छ ।
    माओवादी र एमालेले उनलाई काम गर्न दिइरहेका छैनन् । रास्वपाको इतिहास मेटाउन खोजेका छन् । तर, उनले त यो बुझेका छैनन् । उनीमाथि अहिले सहकारी ठगीको आरोप छ । उनले भटाभटी काम गरेर देखाउन् न, जनताले त्यो कुरा बिर्सिन्छन् । जनता उनैको पक्षमा उभिन्छन् । जनताको साथ भयो भने छेक्ने र रोक्ने कोही हुँदैन् ।
    उनले सबै भ्रष्टाचारीलाई लगेर कोच्नुपर्यो । सरकारी सम्पत्ति दोहन गर्ने, पदको दुरुपयोग गर्ने, भ्रष्टाचार गरेको पैसा विदेशमा लगेर लुकाउने, राजश्व छल्नेलगायतलाई छोड्नुभएन् । भ्रष्टाचार गर्ने केपी ओली, प्रचण्ड होस् या शेरबहादुर देउवा कसैलाई छोड्नुभएन् । यदि काम गर्न नसक्ने हो भने गोजीमा बोकेको राजीनामा बुझाए हुन्छ ।
    अनुसा थापा
    भक्तपुर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs