आईसीसी टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने आज (शनिबार) स्वदेश आइपुग्दै छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि सन्दीप आउने भएका हुन्।
अमेरिकाको भिसा नभएका कारण टोलीसँगै फर्किन नसकेका सन्दीप अब स्वदेश आउने भएका हुन्। अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सकेर क्रिकेट टोलीका सदस्यहरू दुई समूहमा बाँडिएर नेपाल फर्किएको थियो।
सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको थियो। उनीहरू अमेरिकाबाट सिधै नेपाल आएका थिए।
तर अमेरिकाले भिसा नदिएकै कारण सन्दीप विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा भएका खेलमा मात्र सहभागी हुन पाएका थिए। उनी एअर अरेबियाको फ्लाइटबाट आज दिउँसो ३:४० बजे काठमाडौँ ओर्लिने छन्।
१४ वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।
चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपबाट यात्रा टुंग्याएको थियो।