नेताहरु सत्ताको खेलमा, जनता बिहानैदेखि भट्टी पसलमा !

  • कालिका खवर
  • शनिबार, असार २३, २०८१
  • अनुसा थापा, भक्तपुर । नेपालको कानुनमा घरेलु मदिरा बिक्री वितरण गर्न र जुवातास खेल्न रोक लगाइएको छ । तर, होटल व्यवसायीहरुले कानुनलाई नै धोती लगाइदिएका छन् । स–साना होटलमा घरेलु मदिरा बेच्न राखिएको हुन्छ । ठूल्ठूला होटल–रेष्टुरेण्टमा जुवातास खेलाइन्छ । बुढापाकाको जुवातास र रक्सीलाई लिएर एउटा व्यवहारिक भनाइ छ ।
    होटलवालाले पैसा नभएपनि रक्सी दिइहाल्छ, साथीभाइले जुवातास खेल्न पैसा सापटी दिइहाल्छन् । तर, उपचार गर्नुपर्यो, छोराछोरी पढाउनुपर्यो भने कसैले सापटी दिँदैनन् । झन् नेपालीसँग कसले भ्याओस् ? घरजग्गा दाउमा राखेर रक्सी खान्छन्, जुवातास खेल्छन् । पछिल्ला वर्ष रक्सी खाने र जुवातास खेल्नेको संख्या बढेको छ ।
    भट्टी पसलमा बिहानैदेखि मान्छेहरु रक्सी खान बसेको देखिन्छ । पसलेलाई त कमाउनसँग मतलब छ । अर्का सुकुम्बासी भएपनि तिनलाई के मतलब ? रक्सी चामल, कोदो, मकैलगायतका अन्नबाट बनाउनुपर्ने हो । तर, कमाउनका लागि जे पनि गर्न थालियो । रासायनिक मल, जुत्ता, थाङ्ना, राँगाभैसीको हड्डी मिसाएर रक्सी बनाएको सुन्नमा आउन थालेको छ ।
    यस्तो रक्सीले मानव स्वास्थ्यमा कति असर पार्छ ? सरकारले नियमन गरेको छैन् । रक्सी खाने मान्छेको पैसा पनि सिद्धिएको छ, ज्यान पनि । उसको घर परिवार पनि लथालिङ्ग हुन्छ । दिनहुँ झैझगडा हुन्छ । बालबच्चाले पढ्न पाउँदैनन् । सरकारले भट्टी पसलहरुको अनुगमन गरेको पाइँदैन् । ती पसलहरु दर्ता बिनै सञ्चालनमा छन् ।
    एउटा सटर लियो, टेबलकुर्सी राख्यो, पर्दाले बार्यो अनि बिहानैदेखि रक्सी बेच्यो । बिहान कुखुरा बाँस्न पाएको हुँदैन्, यिनीहरुको धन्दा शुरु भइसकेको हुन्छ । सरकारले यस्ता पसल कति बजेदेखि खोल्ने ? कति बजे बन्द गर्ने ? कुनै नियम बनाएको छैन् । पछिल्लो समय मान्छेहरु बिहानैदेखि भट्टी पसलमा देखिन्छन् ।
    बिहानैदेखि रक्सी खानुपर्ने के अवस्था आइलाग्यो ? सरकारलाई चासो छैन् । आर्थिक मन्दीका कारण धेरै व्यापार व्यवसाय डुबेको छ । त्यही तनावले गरेर बिहानैदेखि रक्सी खान थालिएको छ । रक्सी खाने, बाटोमै सुत्ने क्रम बढेको छ । मजदुरी गर्नेहरु त जतिबेला पनि भट्टीमै हुन्छन् ।
    गोजीमा पैसा होस् कि नहोस्, रक्सी खानै परेको छ । भट्टी पसलेपनि उधारो दिन्छन् । सबैको दुःख भुलाउने माध्यम भट्टी पसल बनेको छ । बेरोजगार पनि भट्टी पसलमा, व्यापार व्यवसायमा डुबेका पनि । घरजग्गा व्यवसायीहरुले पनि आफ्नो पीडा भुलाउने ठाउँ बनाएका छन्, भट्टी पसल ।
    आफू डुबे भनेर कामै नगर्ने अनि भएको पैसा पनि भट्टी पसलमा सकाउने । भोलि उसको र उसको परिवारको अवस्था के हुन्छ ? डुब्ने डुबिहाल्यो, काम गरौं भन्ने त सोचै छैन् । यो समस्या भोग्नेको संख्या ह्वात्तै बढ्यो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र जनार्दन शर्माले सेयर जुवा हो ।
    जुवा खेल्नेको घरखेत नै जान सक्छ भनेर उनीहरुले पहिले नै जनतालाई सूचित गराएका थिए । एकदिन मार्छ, अर्कोदिन मर्छ सेयरमा । सेयरमा बाजी मरेको दिन पनि भट्टी पसलमा, बाजी हारेको दिन पनि भट्टी पसलमा । सेयरमा ५० देखि ५५ जना ठूला सेयर दलाल छन् ।
    उनीहरुले ६५ लाखलाई नचाइरहेका छन् । सेयरको मूल्य बढाउने र घटाउने उनीहरु हुन् । सेयर प्रतिकित्ता एक सय रुपैयाँमा निकालिएको हुन्छ । तर, ३५ सय सम्म पुर्याइयो । अहिल सेयरको मूल्यमा व्यापक गिरावट देखिएको छ । मूल्य घटेर १७ सयमा आएको छ । सेयरमा लगानी गर्नेहरु त सिद्धिए ।
    लगानीकर्ताहरुले दलालको रणनीति नै बुझ्न सकेनन् । अहिले सेयरको मूल्य घटाउँछन् र किन्छन् । भोलि फेरि मूल्य बढाएर बेच्छन् । फस्ने कोभन्दा सीधासाधी लगानीकर्ता । सेयर बजार केही दलालको मुठ्ठीमा छ । नेकपा एमाले र नेपाली काँग्रेसबीच सत्ता सहकार्यको सहमति भएको छ ।
    जसअनुरुप एमाले सत्ताबाट बाहिरिएको छ । बजारमा अहिले एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने खुब चर्चा छ । त्यही भनेर सेयर दलालहरुले सेयरको मूल्य बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने बताएका छन् । उनले असार २८ गते सदनबाट विश्वासको मत लिँदैछन् ।
    प्रचण्डले विश्वासको मत नपाउनेबित्तिकै राष्ट्रपतिले पहिलो दल जुन छ, त्यहीबाट प्रधानमन्त्री नियुक्ति गर्नुपर्छ । गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट काँग्रेस पहिलो दल बनेको छ । काँग्रेससँग सांसदको संख्या ८९ छ । प्रचण्डले विश्वासको मत नपाउनेबित्तिकै राष्ट्रपतिले काँग्रेसलाई सरकार बनाउन आह्वान गर्छन् ।
    पार्टीको सभापति र संसदीय दलको नेतामा शेरबहादुर देउवा छन् । राष्ट्रपतिले उनलाई नियुक्ति गर्नुपर्छ । जनताले पहिलो पार्टी पनि काँग्रेसलाई नै बनाएका छन् । विष्णु पौडेलको नाममा अहिलेपनि सीधासाधीलाई फसाउने काम भइरहेको छ । केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भनेर हल्ला फिँजाइएको छ ।
    तर, यो सम्भव देखिँदैन् । अहिले एकाएक सेयरको मूल्य बढाइएको छ । योबाट लाखौं डुब्ने देखिएको छ । भट्टीमा जानेको संख्या सेयरले थप बढाउने देखिन्छ । अहिले घरजग्ग कारोबारमा सुस्तता छाएको छ । पचासौं लाख आना हालेर खरिद गरिएको जग्गाको मूल्य स्वाटै घटेको छ ।
    बेच्छुभन्दा किन्ने मान्छे भेटिँदैनन् । सहकारी, लघुवित्तले धेरैलाई धुरुक्क बनाएको छ । सहकारी भाग्दा धेरैको बचत डुबेको छ । बैंक तथा लघुवित्तले धितो खाइदिएर सुकुम्बासी बनाइदिएको छ । अनि त विकल्प नै भट्टी पसल बन्न थाल्यो । प्राइभेट कार्यालयहरुले तलब दिएका छैनन् ।
    जो–जोलाई तनाव छ, सबै भट्टी पसलमा भेटिन्छन् । विदेश पठाउने नाममा म्यानपावर दलालीले पैसा खाइदिएका छन् । अनि कहाँ जानेभन्दा भट्टी । केही अरुले सकाइदिए, केही आफैंले सकाउँदै छन् । अहिले धेरैलाई कसरी छाक टार्ने भएको छ । बिहान खाए, बेलुका के खाऊको अवस्था छ ।
    तर, भट्टी पसल जाने बानी लागेकाहरुलाई त्यो मतलब छैन् । छोराछोरी भोकै हुन्छन्, उनीहरुलाई भट्टी पसल चहार्दै ठिक्क हुन्छ । जनताको सम्पत्तिको सुरक्षा गर्नु सरकारको दायित्व हो । विडम्बना, सरकारले आफ्नो दायित्व पूरा गर्न सकेन् । सञ्चारमाध्यमको विकास भयो तर त्यसको उपयोग हुन सकेन् ।
    सरकारले त जनतालाई सचेत बनाउनुपर्थ्यो । यहाँ–यहाँ ठग छन् है, सतर्क बन भनेर सरकारले सचेतना फैलाएन् । जति ठग्न सक्छौं, ठग भनेर दलालहरुलाई छाडा छोडिदियो । सरकार निरीह हुँदा जनताको बाँच्ने अधिकारसमेत खोसियो । निरोगी रोगी बन्दै गएका छन् । धेरै सुकुम्बासी हुँदै गएका छन् ।
    कतिपयले तनाव सहन नसकेर आत्महत्याको बाटो रोजेका छन् । जनताको समस्या कसरी सम्बोधन गर्ने ? राजनीतिक दलहरुलाई मतलब छैन् । सत्ताको मोहतिर राजनीतिक दल लागेका छन् । राजनीतिक दलहरु आफ्नै व्यक्तिगत स्वार्थमा रमाएका छन् । देश र जनताप्रति कोही पनि जिम्मेवार देखिँदैनन् ।
    जनता भोट र करका लागि मात्रै जस्ता भएका छन् । बेरोजगारी प्रत्येक दिन बढेको बढ्यै छ । जसका कारण युवकहरुलाई पनि रक्सीको लत लागेको छ । भर्खरका ठिटाहरु भट्टी पसलमा हुन्छन् । यसले नै देशको भविष्य कता जाँदैछ भन्ने छर्लङ्ग पार्दछ । अहिले जनताको आवाज उठाउने एक जना पनि छैन् ।
    जो पनि आफ्नो कर्तुत र भ्रष्टाचार लुकाउनतर्फ लागेका छन् । नेताहरु सत्ताको खेलमा रमाउने, जनता बिहानैदेखि भट्टी पसलमा बस्ने ।
    अनुसा थापा
    भक्तपुर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs