जसपा, जनमत र राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत नदिने

  • कालिका खवर
  • बिहिबार, असार २८, २०८१
  • अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

    सिंहदरबारमा आज बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिनुभयो । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट विभाजन भएर बनेको जसपाका प्रतिनिधि सभामा सात जना सांसद छन् ।

    यस्तै जनमत पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको पार्टी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टी प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । जनमत पार्टीको प्रतिनिधि सभामा छ जना सांसद छन् ।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद रहेका छन् ।

    एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले यो कार्यकालको १८ महिनामा ५ औँ पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs