विश्वव्यापी गजल प्रतियोगिता आयोजन गरिँदै

  • कालिका खवर
  • बिहिबार, साउन १०, २०८१
  • नेपाली वाङ्मयको लोकप्रिय विधा गजलको उन्नयन र पूर्णताको निमित्त समर्पित संस्था “नेपाल गजल प्रतिष्ठान”द्वारा १५९ औँ मोति जयन्तीको शुभ अवसरमा “विश्वव्यापी गजल प्रतियोगिता २०८१ ” आयोजना गरिने भएको छ । यस प्रतियोगितामा संसारभरका गजलप्रेमीहरूलाई सहभागी हुन प्रतिष्ठानले आग्रह गरेको छ ।

    प्रतियोगितामा सहभागी हुन चाहनुहुने गजलकारहरूले आफ्नो प्रतियोगी गजलको साथमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख गरी २०८१ श्रावण २५ गतेसम्म निम्न लिखित ई–मेल ठेगाना ghazalpratiyogita2081@gmail.com पठाइसक्नुपर्ने बताइएको छ ।प्रतियोगी गजल शुद्ध नेपालीभाषामा (देवनागरी लिपिमा) लेखिएको ५ शेरको हुनुपर्ने र कुनै पनि शेरमा गजलकारको नाम वा तखल्लुस् प्रयोग गर्न नपाइने साथै गजल पठाउँदा गजलको साथमा कुनै पनि भूमिका, आग्रह तथा अनुरोध समावेश नगर्नु हुन सूचित गरिएको छ ।

    गजल पूर्णत: मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित र प्रसारित नभएको , कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने बताइएको छ । प्रतियोगी गजलको कुनै अंश वा पूरा भाग साभार गरिएको, छापिएको, प्रसारित भएको वा अन्य कुनै पनि प्रतियोगितामा सहभागी भएको पाइएमा यस प्रतियोगिताका लागि अयोग्य मानिने छ भने विजयी रचनामा यसप्रकारको दाबी विरोध भई आएमा गजल खारेज गरी उत्कृष्टता क्रममा रहेको गजल विजयी मानिने जनाइएको छ।

    ghazalpratiyogita2081@gmail.com को ठेगानामा प्राप्त भएका गजलहरू मात्रै प्रतियोगी गजल मानिनेछ । एउटा प्रतियोगीले एउटा मात्र गजल पठाउनुहुन अनुरोध गरिएको छ । एउटै गजलकारको एक भन्दा बढी गजल सहभागिताका लागि प्राप्त भएमा पहिलो पटक प्राप्त एउटा गजललाई मात्र प्रतियोगी गजल मानिने छ ।

    गजल मूल्याङ्कनका आधार विचार, शिल्प, शैली, व्याकरण भाषा लगायत गजलका आधारभूत सबै मान्यताहरूको पालना गरी रचना गरिएको गजलमात्र प्रतियोगिताको लागि योग्य मानिने बताइएको छ । गजल मूल्याङ्कनका लागि ३ जना गजलमर्मज्ञ निर्णायकहरूको गोप्य निर्णायक समिति समेत रहेको छ । यो प्रतियोगितामा “नेपाल गजल प्रतिष्ठान” कार्यसमितिका सदस्यहरूबाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनु भएका इच्छुक नेपाली भाषी गजलकारहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको नतिजा २०८१ भाद्र १५ गतेका दिन सार्वजनिक गरिने बताइएको छ ।

    प्रतियोगितामा सर्वोत्कृष्ट हुने विजेता गजलकारको कृति र गजल सङ्ग्रह प्रकाशन गरिनेछ । उत्कृष्ट ५ गजलकारहरूलाई तथा प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । विजयी गजलकारले प्रतियोगिता समापन भएको मिति देखि ६ महिना भित्रमा सङ्ग्रहका लागि आवश्यक गजलहरू आयोजक समितिले उपलब्ध गराउने ठेगानामा र प्रतिनिधिलाई पठाइसक्नु पर्नेछ । गजलहरू तोकिएको समय अगावै प्राप्त भएमा सोही अनुरुप सम्पादन तथा प्रकाशन कार्य अगाडि बढाइनेछ ।

    पुरस्कार स्वरूप प्रकाशन गरिने सङ्ग्रहमा सङ्गृहीत हुने रचनाहरू पनि गजलका सबै आधारभूत मान्यताहरू पालना गरी लेखिएको हुनुपर्नेछ र प्राप्त गजलहरूमा आवश्यक सम्पादन कार्य सर्जकलाई जानकारी दिई नेपाल गजल प्रतिष्ठानबाट गरिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs