रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले सोधपुछ गर्ने

  • कालिका खवर
  • मङ्लबार, साउन १५, २०८१
  • काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको  छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ ।

    लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।‘गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका हिसाबले र एक जना सदस्यका हिसाबले पूर्वगृहमन्त्री समितिको सोधपुछमा हुनुहुन्छ’, थापाले भने, ‘यो स्वाभाविक हो ।’ उनले कानुन र कार्यविधिअनुसार समितिले अनुसन्धान गर्ने भन्दै सोधपुछका लागि समितिमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको बताए । ‘सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेका भने होइनौँ’, थापाको भनाइ छ ।

    लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ । ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ । लामिछानेलाई सोधपुछ गर्ने भनिए पनि समय तय भैनसकेको समितिका एक सदस्यले जानकारी दिए । ‘लामिछानेजीलाई सोधपुछका लागि बोलाउने कुरा भएको हो । तर समय निश्चित भैसकेको छैन । सम्भवतः बुधवारको बैठकमा पनि हुनसक्छ । कुराकानी भइरहेको छ’, ती सदस्यले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs