बाजुरा । बूढीगंगा नदीको कटानले बाजुरा र अछाममा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । यो वर्ष पनि नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौं बस्तीसमेत जोखिममा परेका छन् । कटानका कारण बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बूढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा छन् ।
गत वर्षको मनसुनमा बूढीगंगा नगरपालिका १ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमिन बूढीगंगा नदीले कटान गरेको थियो । यो वर्षको मनसुन सुरु भएपछि सोही नगरपालिका ३ ताप्रिसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत गरेको स्थानीय हिरा थापाले बताए । बाजुराको बडिमालिका नगरपालिका २ घागरमा १९ मुरी धान फल्ने खेत बगाएको र जोखिममा परेकाले घरमा बस्नसमेत छोडेको हिरा उपाध्ययाले बताए ।