बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न राष्ट्रपतिको आदेश

  • कालिका खवर
  • मङ्लबार, साउन २२, २०८१
  • बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् ।

    उनकी कट्टर प्रतिद्वन्द्वी शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपतिको आदेश आएको हो । राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा बसेको बैठकले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्ने निर्णय गरेको हो ।

    बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए । बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि सोमबार अपराह्न सेना प्रमुखले सरकारी टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेर सेनाले कामचलाउ सरकार बनाउने बताएका थिए ।

    ७८ वर्षीया खालिदा जिया अस्वस्थ छिन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

    जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । सन् १९७७ देखि १९८१ सम्म बंगलादेशको राष्ट्रपति रहेका उनका श्रीमान् जिआउर रहमानको हत्यापछि जियाको राजनीतिक जीवन सुरु भयो भएको थियो ।

    उनी सन् २००१ देखि २००६ सम्म फेरि प्रधानमन्त्री बनेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs