काठमाण्डौ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसोपख बदली भएर पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार देशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा १४२ दशमलव ६ मिलिमिटर र तार्के घ्याङमा १३८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै भोताङमा ११३ दशमलव ८ मिलिमिटर, मानेखर्कमा १०७ दशमलव २ मिलिमिटर र ढुंगेमा ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
यसैबीच सुनकोशी नदी पचुवारघाट र खुर्कोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो रहेकाले सुनकोशी नदीको तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।