अनुसा थापा, भक्तपुर । राजनीतिक दलहरुले आफ्नो मुद्दा स्थापना गर्न, राजनीति परिवर्तन गर्न र आफू सत्तामा जान विभिन्न मितिमा आन्दोलन घोषणा गरे । २०६२–६३ को जनआन्दोलनमा करोडौं सर्वसाधारण सडकमा आए । हजारौं शहिद भए । त्यतिबेला अंगभंग भएकाहरु आज पनि उपचार नपाएर तड्पितड्पि बाँचिरहेका छन् ।
जनताको योगदानले देशको राजनीति परिवर्तन भयो । राजतन्त्र हटेर लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्यो नेपाल । अनि, राजनीतिक दलहरु सत्तामा पुगे । तर, हिजो जसले यो व्यवस्था ल्याउन योगदान दिए, तिनलाई सरकारले देखेन् । उनीहरु सरकारको नजरमा छँदै छैनन् ।
सरकारले उनीहरुलाई वास्तै गरेनन् । जनता सास्तीमा बाँचिरहेका छन्, नेताहरु मस्तीमा छन् । आन्दोलनमा उत्रिएका जनताको अवस्था आजपनि नाजुक छ । कतिपयले खान नपाउँदा आत्महत्या गरे । कतिपयले मिर्गौला बेचे । कोही मागेर खाइरहेका छन् । तर, नेताहरुलाई कुनै मतलब छैन् ।
जनयुद्धका कमाण्डर प्रचण्ड ७८ लाखको घडी बाँध्छन् । उनी विलासिताको भोगी भइसकेका छन् । ओली राज्यको ढुकुटी रित्ताएर उपचार गर्छन् । अन्य नेता पनि त्यस्तै छन् । जनताले तिरेको करले नपुगेर खर्बौं रुपैयाँ विदेशी ऋण पनि लिइसकेका छन् । नेताहरु पेट दुख्यो भनेपनि विदेश पुग्छन् ।
उपचारका नाममा नेताहरुले राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ लिएका छन् । सेवासुविधा लिन्छन्, तर काम गर्दैनन् । नेताहरुलाई आफ्नो सेवासुविधा मात्र प्यारो छ । जसरी हुन्छ व्यक्तिगत सम्पत्ति आर्जन गर्नु छ । हिजो फुट्या कौडी नभएका नेताहरु आज महलजस्तो घरमा बस्छन् ।
जनताले तिरेको कर, विदेशी ऋणले नपुगेर अझ भ्रष्टाचार पनि गर्छन् । अनि यस्तालाई कुन मुखले नेता भन्ने ? नेता त त्यागी हुन्छन् । हाम्रो देशका नेताहरु जता पनि स्होर्न मात्र खोज्छन् । आन्दोलनका घाइतेहरुलाई पार्टीले टिकट दिएन् । बरु दलालहरुले मौका पाए । मीटरब्याजमा पैसा लगाउने, शिक्षाको थलोमा व्यापार गर्ने, एनजिओ खोलेर डलर पचाउने, नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छिन् ।
राजनीतिक परिवर्तनका क्रममा पटकपटक भएको आन्दोलनमा उनको के योगदान छ ? कसैको श्रीमती भएकै आधारमा परराष्ट्रमन्त्री बनाइयो । हुन त राजनीतिमा ‘नेपोटिजम’ छिरेको धेरै भइसक्यो । तर, विभिन्न काण्डमा मुछिएको व्यक्तिलाई जिम्मेवार पद दिँदा मुलुककै बद्नाम भएको छ ।
जनयुद्धका बेला माओवादीका अध्यक्ष प्रचण्डको टाउकोको मूल्य तोक्ने आरजुका श्रीमान् शेरबहादुर देउवा हुन् । आन्दोलनकारीमाथि डण्डा बर्साउन प्रहरी र सेना परिचालन गर्ने पनि उनी नै हुन् । केपी शर्मा ओली गृहमन्त्री भए, परराष्ट्रमन्त्री भए । पटकपटक प्रधानमन्त्री पनि भए ।
तर, उनले देश र जनताको हितमा कामचाँहि केही गरेनन् । बरु झापाको गिरीबन्धु टि स्टेटको जग्गा व्यक्तिको नाममा पास गरिदिने भने निर्णय ठोकिदिए । अर्थमन्त्री विष्णु पौडेलको असली अनुहार त सबैले देखिसकेका छौं । वालुवाटारको आठ आना जग्गा आफ्नो छोराको नाममा पास गर्ने भूमाफिया हुन् उनी ।
दलाल, घुसखोरी, भ्रष्टाचारी सरकारमा छन् अनि देश बन्छ ? जनताले हरेक नेताको असली रुप देखिसकेका छन् । पुराना राजनीतिक दलबाट वाक्क भएर जनताले २०७९ मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा २१ सीट दिए । असारमा दर्ता भएको पार्टीले २१ सीट पाउनु ठूलो कुरा थियो ।
तर, रास्वपा पनि अन्य पार्टीभन्दा खासै फरक देखिएन् । गफ लाउने, काम नगर्ने पुरानै प्रवृत्ति रास्वपामा दोहोरिएपछि जनता थकथकी मान्न थालेका छन् । २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा राप्रपाले १ सीट पाएको थियो । गत निर्वाचनमा त्यही राप्रपाले १४ सीटमा बाजी मारेको छ ।
जुनसुकै पार्टीले जतिसुकै सीट ल्याऊ्न, उखाल्ने केही होइनन् भन्ने पुष्टि भइसकेको छ । सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण पर्व गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवा पुगेका थिए । युवाहरुले उनीहरुको चर्को विरोध गरे ।
प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । तर, नियन्त्रणमा लिनुपर्ने त राजनीतिक दलका नेता होइनन् र ? देश धितो राखेर ऋण लिएका छन् । जनतालाई भ्रमित बनाएर दशकौंदेखि लुटिरहेका छन् । भ्रष्टाचार गरेका छन् । विभिन्न काण्डमा जोडिएका छन् । त्यस्तालाई चाँहि उन्मुक्ति दिएर सीधासाधी जनतालाई समातियो ।
नेताले जे गर्या थिए, जनताले त्यही बोलिदिए । पछिल्लो समय सरकारको चौतर्फी आलोचना भइरहेको छ । झन् बंगलादेशको घटनापछि जनता झन् तातिएको देखिन्छ । सांसदहरुले नै त्यो कुरा स्वीकारेका छन् । जनतामा नैराश्यता बढेको छ । गरिबी, बेरोजगारी, मँहगीले जनता थलिएका छन् ।
तर, सरकार हावादारी गफ ठोक्नमै व्यस्त छ । जनताको समस्याबारे सरकारलाई ख्याल नै छैन् । बैंक तथा वित्तिय संस्थाले लाखौंलाई सुकुम्बासी बनाएको छ । यद्यपि, सरकारले अनदेखा गरिरहेको छ । बजार आर्थिक मन्दीले छपक्क छोपेको छ । अहिलेका नेताबाट केही हुनेवाला छैन् भनेर बच्चादेखि बुढासम्मले थाहा पाइसकेको छ ।
जनताहरु आक्रान्त बनेका छन् । अतिले खति गर्छ भन्ने त सबैले सुनेकै छौं । लघुवित्तको आतंक बढी भएपछि सर्वसाधारणले विरोध जनाउन थालेका छन् । गाउँठाउँबाट लघुवित्त भगाउने अभियान शुरु भइसकेको छ । सहकारी पीडितहरु विगत तीन महिनादेखि चिसो भुइँमा छन् ।
मीटरब्याज पीडितहरु पुन आन्दोलनको तयारीमा छन् । जनता बाँचुन् कि मरुन् राजनीतिक दलका नेतालाई मतलब छैन् । युवक पेट पाल्न विदेश गइरहेका छन् । झन् सबै युवालाई कसरी विदेश पठाउन सकिन्छ ? सरकार यसतर्फ ध्याउन्न छ । आफ्नो सत्ता टिकाउने, जनताले तिरेको करमा मोजमस्ती गर्ने र कसैले आफ्नो विरोधमा बोलेमा समात्ने ।
पीडितहरु आन्दोलन गर्न तम्तयार छन् । बस् नेतृत्वकर्ताको खोजीमा छन् । नेतृत्वकर्ता पाउनेबित्तिकै सडकमा उत्रिन्छन् जनता । बंगलादेशमा शुरुमा तीन जना विद्यार्थीले आन्दोलन गरे । पछि आन्दोलन यस्तरी चर्कियो कि प्रधानमन्त्रीले देशै छोडेर भाग्नुपर्यो । जनताको बलमा राजनीति परिवर्तन भयो ।
आज प्रचण्ड, ओली, देउवा, माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुमा त जनताकै योगदान छ । तर, जनतालाई नै अपहेलना गरियो । ठाउँमा नपुगञ्जेल जनताका लागि यो गर्छु, त्यो गर्छु भने, अहिले केही न केही । जनताको आवाज उठाइदिने आज कोही पनि छैनन् । जसका कारण कि सहनुपर्ने कि मर्नुपर्ने बाध्यता छ ।
प्रधानमन्त्री ओली नेपालमा अन्य देशजस्तो आन्दोलन नहुने बताउँछन् । अन्य देशको आन्दोलनले नेपाललाई कुनै फरक नपर्ने उनको जिकिर छ । हिजो जनयुद्द गर्ने माओवादी अहिलेपनि सदनमा छ । २०५२ साल फागुन १ गते माओवादीले हतियार उठाउँदा जनताको समर्थन थिएन् । तर, विस्तारै समर्थन बढ्दै गयो ।
त्यसैले प्रधानमन्त्रीले बोल्दाखेरि निकै सोचविचार गर्नुपर्ने हुन्छ । ख्यालख्यालमा बोल्ने काम ठीक होइन् । दशैंपछि आर्थिक मन्दी झनै बढ्ने निश्चित छ । अब माओवादीको काँधमा महत्वपूर्ण जिम्मेवारी छ । कि सडक र सदनमा जनताको आवाज जोडतोडका साथ उचाल्नुपर्यो कि ओलीको अगाडि आत्मसमर्पण गर्नुपर्यो ।
जनताको समस्या कसले उठाउन सक्छ ? अब त्यही व्यक्ति देशको नेता हुन्छ ।
अनुसा थापा
भक्तपुर