नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६ औँ संस्करणको ‘नाडा अटो सो–२०२४’ सकिएको छ । काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन भएको ६ दिने अटो सो हिजो सकिएको हो । अटोमोबाइल्स क्षेत्रको कुम्भमेला मानिने अटो सोमा ८२ हजार भन्दा धेरै जनाले अवलोकन गरेका आयोजकले जनाएको छ ।
आयोजकका अनुसार अटो सोमा अनुमानित १५ अर्ब रुपैयाँ बराबरको कारोबार हुनुका साथै ४ हजार थान चार पाङ्ग्रे र २ हजार थान दुई पाङ्ग्रे गाडी बुकिङ भएको अनुमान छ । अटो सोमा विभिन्न कम्पनीले नयाँ ब्रान्ड लन्च गर्नेदेखि उत्पादन (प्रोडक्ट) हरूमा छुट अफरसमेत ल्याएका थिए ।
प्रायः कम्पनीहरूले प्रदर्शनीमा राखेका उत्पादनमा दिएका छुट छठसम्मका लागि निरन्तरता दिने जानकारी दिएका छन् । अटो सोमा कम्पनीहरूले गाडीसँगै हेल्मेट, टायर, लुब्रिकेन्ट्समा छुट अफर राखेका थिए ।
अटो सोमा १ सय ३० वटा स्टल राखिएका थिए, जसमा २३ वटा चार पाङ्ग्रे ब्रान्ड, १९ वटा दुई पाङ्ग्रे, १२ वटा हल्का व्यावसायिक गाडी ब्रान्ड र बैंक तथा वित्तीय संस्थाका ११ वटा स्टल थिए । साथै अटो सोमा लुब्रिकेन्ट्स, टायर, ब्याट्रीलगायत कम्पनीका स्टल ३३ वटा राखिएको थियो ।