वर्षाले १४ स्थानमा चेतावनीको तह पार

  • कालिका खवर
  • शुक्रबार, अशोज ११, २०८१
  • काठमाडौं । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । यो समाचार तयार पार्दासम्म चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये धेरैजसो कोशी प्रदेशका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ । मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ । सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ। यसैगरी झापाका शनिश्चरे, अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ । २४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ ।

    झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ । उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ । हाल देशभर अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टायता कोशी प्रदेशका थोरै स्थानहरूमा धरै भारी वर्षा मापन भएको छ । आगामी २४ घण्टाका लागि देशभर नै मनसुन सक्रिय रहने सम्भावना छ । मौसमविद गोविन्द झाका अनुसार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ । ती क्षेत्रमा वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम छ । साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने र कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पनि आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जोखिम बढेपछि सरकारले आज असोज ११ र भोलि १२ गते दुई दिन रात्रि बस नचलाउन भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs