धौलागिरि क्षेत्रमा पाँच जना रुसी आरोहीको ज्यान गएको पुष्टि

  • कालिका खवर
  • बुधबार, अशोज २३, २०८१
  • धौलागिरि हिमाल आरोहणमा गएका १४ मध्ये पाँच जना रुसी नागरिकको ज्यान गएको पुष्टि भएको छ । गएको आइतवारदेखि सम्पर्कविहीन भएका उनीहरुको हिजो शव भेटिएको हो । ज्यान गुमाउनेमा अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ रहेका प्रहरीले जनाएको छ ।

    उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो । धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव ७ हजार ६ सय मिटर उचाइमा भेटिएको पर्यटन विभागले जनाएको छ । ज्यान गुमाएका अलेक्जेन्डरको नेतृत्वमा १४ जनाको आरोहण टोली नेपाल आएर धौलागिरि आरोहण गर्न लागेको थियो ।

    आईएएम ट्रेकिङ कम्पनीको व्यवस्थापनमा गएका १४ मध्ये ६ जनाको स्वास्थ्य बिग्रिएपछि उनीहरुले आरोहणको योजना रद्द गरेर आधार शिविरमै बसेका थिए । शपिलेवो नामका व्यक्ति क्याम्प–१ बाटै आरोहण योजना रद्द गरेर फर्किएको विभागले जनाएको छ ।

    मौसम प्रतिकुल भएपछि सोमवार ट्रेकिङ कम्पनीले पाँच जना हराइरहेको भन्दै विभागलाई सम्पर्क गरेको थियो । मौसम प्रतिकुल हुनु र आरोहण सम्पन्न गरेर फर्कने उनीहरुको मनसायका कारण घटना भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताउनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs