
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा खेल प्रशिक्षण गर्ने भएको छ। महानगरले स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्न लागेको हो ।
प्रशिक्षणमा क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो–खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ–स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसु लगायतका विधा रहने सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार प्रशिक्षणका लागि १२ हजार १२१ जना विद्यार्थी आवेदन दिन सक्नेछन्। कार्तिक मसान्तभित्र छनोट भएका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि तालिम दिइने उनको भनाई छ।