काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको आरोप लगाएका छन् । सङ्कटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुने महासचिव पोखरेलले बताएका हुन् ।
माओवादीको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरी सरकारको आलोचना गरेका थिए । पोखरेलले यसबारे सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै लेखेका छन्, ‘ यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिन्छ।’