अंकेत पुरी, बिरगंज । पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरी छठघाटमा भव्य छठ पर्वको तयारीमा सुरक्षा सुनिश्चितता प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। यस वर्षको छठ पूजा र दर्शनमा १ लाख ५० हजारभन्दा बढी भक्तजनहरूको आगमन अपेक्षित छ, जसले सुरक्षा व्यवस्थामा चुनौतीको सामना गराउनुका साथै विशेष तयारीको आवश्यकता पनि देखिएको छ।
मंगलबार सम्पन्न बैठकमा, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छठघाटको सुरक्षा रणनीति तय गरी त्यस अनुसार सुरक्षाकर्मी परिचालन गरिने बताए। भीड व्यवस्थापन, सम्भावित दुर्घटना टार्न, र अन्य सुरक्षा चुनौतीहरूको सामना गर्न प्रहरी प्रशासन गम्भीर रहेको उनले उल्लेख गरे। प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पनि नेपाल प्रहरीको तर्फबाट स्वंयसेवकहरूका साथ सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन सहकार्य गरिने जानकारी दिए।
बैठकमा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले पोखरीको जलाशय सुरक्षाका लागि मोटरेबल बोटसहितको टोली खटाइने र महिला सुरक्षाकर्मी पनि परिचालन गरिने बताए। सुरक्षा उपसमितिका संयोजक मनोहर साहले छठघाट परिसरभित्र र बाहिर २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी गराउँदै, घडिअर्वा स्पोर्ट्स क्लबका ४० जना स्वंयसेवक परिचालित गरिने बताए।
सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र, र प्राथमिक उपचार शिविर राखिने व्यवस्था गरिएको क्लबका सचिव सन्तोष गुप्ताले जानकारी दिए। बैठकमा सहभागी नेपाली सेनाका कर्णेल निराजन कटुवाल, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत ललितनारायण चौधरी, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, लगायत सुरक्षा निकायका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति थियो।
सुरक्षा उपसमितिका संयोजक साहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा छठघाटको सुरक्षा, भीड व्यवस्थापन, र सम्भावित जोखिमहरूको पूर्वतयारीको लागि आवश्यक सबै उपायहरू अपनाइने निर्णय गरिएको छ।