रूस–युक्रेन युद्ध रोक्न सके ट्रम्प विश्वकै हिरो बन्नुहुन्छ : खनाल

  • कालिका खवर
  • बिहिबार, कार्तिक २२, २०८१
  • काठमाडौँ । नेकपा (एमाले) विदेश विभागका सदस्य गोपाल खनालले रुस र युक्रेनबिच जारी रहेको युद्ध रोक्न सफल भएमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति मात्रै नभएर विश्वको हिरो बन्ने बताएका छन् ।

    अमेरिकाको ४७ औँ राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कूटनीतिक क्षेत्रमा पर्न सक्ने प्रभावका बारेमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुस–युक्रेन र इजरायल, प्यालेस्टाइनबिच रहेको युद्धको अन्य गर्न सफल भएमा ट्रम्प विश्वमा ऐतिहासिक राष्ट्रपति बन्ने बताएका हुन् ।

    ‘अमेरिकको राष्ट्रपतिमा ट्रम्प आउँदै गर्दा तीन वटा कुरा साह्रै महत्त्वपूर्ण छ । उहाँले निर्वाचनको बेला पनि भन्नुभएको छ– रुस र युक्रेनबिचको युद्ध म एक दिनभित्र अन्त्य गर्छु भन्नुभएको छ । यद्यपि, त्यो युद्ध कसरी अन्त्य हुन्छ भन्नुभएको छैन,’ उनले भने, ‘यदि ट्रम्पले यो युद्ध जसका कारण विश्व नै विभाजित भएको छ, यदि उहाँले यो युद्ध अन्त्य गर्न सक्नुभयो भने अमेरिकाको राष्ट्रपति मात्रै होइन विश्वकै हिरो बन्नुहुन्छ । यति नै महत्त्वपूर्ण विषय इजरायल, प्यालेस्टाइनी युद्ध पनि छ । उहाँले यी युद्ध अन्त्य गराउन सक्नुभयो भने विश्वमा उहाँ ऐतिहासिक राष्ट्रपतिको रूपमा प्रमाणित हुनुहुनेछ ।’

    नेता खनालले दुनियाँमा हुने युद्धको समाधान कूटनीतिक रूपले वार्ताको माध्यमबाटै गर्न सकिन्छ भन्ने पक्षमा ट्रम्प रहेको बताए । उनले अमेरिका र चीनबिचमा रहेको व्यापारको युद्धलाई समेत ट्रम्पले सन्तुलनमा ल्याउने विश्वास व्यक्त गरे । ट्रम्पको कार्यकालमा अमेरिका र चीनको सम्बन्ध थप प्रतिकूलतातिर गयो भने त्यसको बाछिट्टाहरू नेपालमा पर्न सक्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs