वीरगञ्ज – पर्सा जिल्लाको ग्रामीण क्षेत्रका नाका बार्वा, सिवान टोल र अमरपटीबाट हाल तस्करीको लहर फेरि सक्रिय भएको पाइएको छ। सशस्त्र प्रहरी बल नेपालका प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ मातहत रहेका सशस्त्र प्रहरी बलको सिवान टोल र बिओपी अमरपटीको सहमतिमा लत्ताकपडा, हार्डवेयर, कबाड, कुखुराका चल्ला, डाबर पेस्ट, राजनिगन्धा, काजु लगायतका सामग्रीहरू ठूलो मात्रामा तस्करी भइरहेको छ। तस्करीमा संलग्न रहेका अनिलले सिवान टोल नाकाबाट गुटखा र अन्य तम्बाकूजन्य सामग्री तस्करीको जिम्मा पाएका छन् भने, तारकेश्वरले राजनिगन्धा र अन्य समान बार्वा नाकाबाट भित्र्याइरहेका छन्। त्यस्तै, जलाउदिनले कबाड र हार्डवेयरका सामानहरूको तस्करी अनुमति पाएको जनाइएको छ।
पर्साका स्थानीय सरुपले कुखुराको चल्ला ठूलो परिमाणमा तस्करी गर्दै आएका छन्, जसले गर्दा जिल्लाभरका कुखुरा फार्महरू अवैध तरिकाले भित्र्याइएका चल्लामा निर्भर भएको देखिन्छ। भारतीय सीमावर्ती गाउँहरूमा पिकअप सवारी प्रयोग गरी रातको समयमा मोटरसाइकल र पैदलभरिया प्रयोग गरेर अमरपटी नाकाबाट ग्रामीण भेगमा चल्ला सप्लाई गर्ने काम भएको प्रहरी स्रोतले जनाएको छ। अमरपटी, मधवल, झौवा, इटियाही लगायतका गाउँहरूमा करिब ८० देखि १०० वटा कुखुरा फार्महरू अवैध रूपले भित्र्याइएको चल्लाको भरमा सञ्चालन भइरहेको जनाइएको छ। साथै, उत्तम तिवारीले डाबर पेस्ट, कास्मेटिक सामान र लेक्मी क्रिमजस्ता वस्तुको तस्करीमा संलग्न रहेको भनाइ छ। त्यहाँबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएका गाडीका टायर भारततर्फ तस्करी हुने गरेको पाइएको छ। घरेलु मदिरा र सिल प्याक मदिरासमेत अमरपटी र प्रसौनी नाकाबाट तस्करी भइरहेको छ।
सशस्त्र प्रहरी गुल्म अलौका प्रमुख नायब उपरीक्षक शुशिल बस्नेतले सिमा क्षेत्रमा मात्र देखावटी रूपमा अलौ र कोन्हिया नाकामा कडाइ गर्दै सिवान टोल र अमरपटी बिओपीमा तस्करहरूसँग मिलेमतो गरेर तस्करीलाई छुट दिएको आरोप छ। स्थानीय स्रोतका अनुसार तस्करहरूलाई नजराना बुझाएर बार्वा, अमरपटी, झौवा, र मधवल नाकाहरूबाट ठूलो मात्रामा तस्करीको सहजता मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल र सशस्त्र प्रहरी १३ नम्बर गणका एसपी राधेश्याम धिमालले सिमानामा तस्करी रोक्न निर्देशन दिएको भए पनि स्थानीय चौकी, गुल्म र बिओपीका अधिकृतहरूले तस्करी मार्फत रकम असुल गर्दै आएको जनाइएको छ।
सशस्त्र प्रहरी बलका डिएसपी बस्नेतले आफू इमान्दार रहेको दाबी गरेका भए पनि उनको मातहतका बोर्डर आउट पोष्टबाट रातभर काजु, रजनीगन्धा, कबाड, कुखुराको चल्ला, चिनी लगायतका सामग्री तस्करी भइरहेकाले उनको भूमिकामा समेत अनुसन्धान आवश्यक देखिएको छ। यस घटनाप्रति जिल्ला प्रहरी प्रमुख ढुंगेल र सशस्त्र प्रहरीका एसपी धिमालको ध्यान जानु जरुरी भएको स्थानीयले बताएका छन्।